१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पटनाबासी भन्छन्, ‘हामीलाई गाउँ गाउँमा सिंहदरबार आएन’



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा १० पटनाका स्थानीयबासीले सिंहदरबारको अधिकार गाउँ गाउँ आएको भनिए पनि आफुहरुले त्यो अनुभूति गर्न नसकेको गुनासो गरेका छन् । भौगोलिक विकटताले पछि परेको पटनामा सरकारको नजर कम परेको भन्दै स्थानीयबासीले गुनासो गरेका हुन् । गाउँ गाउँमा सिंहदरबारको अधिकार आएको भनिए पनि ठूलाबडालाई मात्र आएको पटनाका स्थानीयबासीको आरोप छ ।
वडा नं. १० पटनाको आयोजना र मायादेवी मिडिया ग्रुप प्रालिको प्राविधिक सहयोगमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानीयले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा आ–आफ्नो प्रश्न राख्दै स्थानीयबासीले पटनामा विजुली, शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि, सिंचाईको ठूलो समस्या रहेको गुनासो गरे । यी समस्या समाधानका लागि कुन सरकारले पहल गर्ने हो भन्दै आक्रोस पनि पोखे ।


स्थानीय राखेको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष रामविहारी चौधरीले आफुले बजेटले भ्याए जति कामहरु गरेको बताउनुभयो । पटना भौगोलिक हिसाबले पछाडी परेको भन्दै वडा स्तरमा आउने बजेट प्रयाप्त नभएकोले सोचेजति स्थानीयको माग सम्बोधन गर्न नसकेको प्रष्टाउनुभयो । वडाको प्रमुख समस्या विजुली बत्ति र बाटो भएकोले यो समस्या समाधानका लागि नगर, प्रदेश र केन्द्रिय सरकार संग पहल भैरहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा वडा अध्यक्ष चौधरीले चालु आवमा भए गरेका प्रगतिको बारेमा वडाबासीलाई जानकारी गराउनुभएको थियो ।

उहाँले चालु आवमा सञ्चालित सबै कामहरु सुचारु भएको र १३ वटा कामहरु सम्पन्न भैसकेको बताउनुभयो । यस बर्ष वडाले सडकमा नै बढी लगानी गरेको जानकारी दिनुभएको थियो ।
मायादेवी मिडिया गु्रप प्रालिका कार्यकारी निर्देशक हरि अधिकारीको सहजिकरणमा भएको कार्यक्रममा रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले नागरिक प्रतिवेदन र बर्हिगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा झण्डै एक सय जना वडाबासीको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन मायादेवी मिडिया ग्रुप प्रालिका सम्पादक दिपक अनुरागीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  ६ : ५८ बजे