मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका सयौ घरपरिवारले मन्द बिषका रुपमा रहेको आर्सनिकयुक्त पानी पिउन बाध्य छन । पिउन अयोग्य भएका पानी पनि शुद्ध पानीको अभावले उनीहरुले सो पानी पिउन बाध्य भएका हुन् । जिल्लामा ७ प्रतिशत बढी घरपरिवारमा पानीको पहुँच छ । तर कपिलस्तुमा अझै पनि दर्जन बढी गाउँका नागरिक आर्सनिकयुक्त पानी पिउन बाध्य छन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीको कपिलवस्तु सम्पर्क कार्यालयका अनुसार तत्कालिन दर्जन बढी साविक गाबिसमा पिउन अयोग्य आर्सनिकयुक्त पानी पिउने गरिएको छ ।
एक दशक अघि युनिसेफ र खानेपानी सरसफाई सव डिभिजन कार्यालयको संयुक्त टोलीले तत्कालिन ३ वटा निर्वाचन क्षेत्रमा रहेका २४ हजार ६०१ घरघुरीमा गरिएको थियो । त्यस मध्ये ४ सय ८९ ट्युबवेलको पानी अयोग्य रहेको सम्पर्क कार्यालयका इन्जिनियर खरानन्द ईसरले बताउनुभयो ।
सो नलमा ५० पिपिबी भन्दा बढी आर्सनिक भेटिएको उहाले बताउनुभयो । शुन्य देखि ५० पिपिबी सम्मलाई सामान्य, १० देखि ५० पिपिबी मसिएको पानीलाई ठिक मानिने उहाले बताउनुभयो । आर्सनिकका बारेमा अझै पनि जिल्लाका अधिकांश नागरिकलाई जानकारी छैन् । नमुना परिक्षणका क्रममा खान अयोग्य नलको पानी नखान आग्रह गरिएको इन्जीनियर ईसरले बताए । उनले आफ्नो नलको आर्सनिक परिक्षण गराएर पानी पिउनु पर्ने बताए ।
५० पिपिबी भन्दा माथीको पानी खान अयोग्य भए पनि ४ सय ८९ परिवारले बाध्य भएर पानी खाने गरेका छन् । बुद्धभूमि नगरपालिका– १ महेन्द्रकोटमा ५५ वटा नलमा अधिक आर्सनिक भएकाले खान अयोग्य घोषित गरिएको छ । तर पिउने पानीको अभावले ती परिवारहरु अझै सोही नलको पानी खाने गरेका छन् ।
वडा अध्यक्ष तेज बहादुर बस्नेतले आफ्ना वडामा रहेको नलहरुमा आर्सनिकयुक्त पानी भएकाले खानेपानीको समस्या भएको देखिएकाले त्यसको समाधानका लागि पहल गर्ने बताए । सो वडामा वास परियोजना अन्तरर्गत ३ वटा खानेपानी आयोजना समेत संचालन गरिएको उनले बताए ।
यस्तै शिवराज नगरपालिकाको थुन्हीयामा ६ नलमा, महाराजगञ्जको उदयपुरमा ४६ नलमा, महाराजगंजमा ६२ नलमा अधिक आर्सनिक भेटिएका छन् । यसैगरी दुबियामा ३६, बुड्ढीमा २६ नलको पानीमा आर्सनिक भेटिएका छन् । आर्सनिकयुक्तको नियमित सेवनले क्यान्सर, पेट सम्बन्धि रोग, छाला रोग लाग्ने अधिक सम्भावना रहेको डाक्टरहरु बताउँछन ।
२६ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया