११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

पेनाल्टीमा चुक्दा वाणगंगाको सपना चकनाचुर, झरना बन्यो स्मृति कप फुटवलको च्याम्पियन



मायादेवी अनलाइन, वाणगंगा ।
पेनाल्टी सदुपयोग गर्न नसक्दा वाणगंगा वेलफेयर सोसाइटी जिल्लाको सर्वाधिक पुरस्कार राशीको फुटबलको उपाधि चुम्नबाट वञ्चित भएको छ भने त्यसको फाइदा लिँदै रुपन्देहीको झरना स्पोर्ट्स कुञ्जलापुर च्याम्पियन बनेको छ । तरुण नेताहरु स्वर्गिय मुक्ति, राजेश, राजेन्द्र र ओमप्रकाशको स्मृतिमा तरुण दल क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रतियोगिताको उपाधि भिडन्तमा बुधबार घरेलु टोली वाणगंगा वेलफेयर झरना स्पोर्ट्स कुञ्जलापुर संग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको हो । उत्कृष्ट खेल पस्केको झरना विजयी हुँदै नगद रु. २ लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने उपविजेतामा सिमित भएको बाणगंगाले १ लाख, शिल्ड मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्यो । विजेता र उपविजेतालाई अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कृत गर्नु भएको थियो ।
हजारौँ दर्शकले खचाखच भरिएको ४ नम्बरस्थित बुद्ध रंगशालामा भएको उपाधि भिडन्त निकै रोचक बन्यो । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी सहित मैदान उत्रेको बाणगंगाले अग्रता जोगाउन नसक्नु र पाएको पेनाल्टी खेर फाल्नु निकै घातक बन्यो । खेल अवधिभर लगभग फिप्टीफिप्टी बल पासिङ गरेका दुवै टोलीले पहिलो हाफमा केही गोल गर्ने अवसर पाएका थिए । पहिलो हाफको २० औँ मिनेटमा बाणगंगाको तर्फबाट विदेशी खेलाडी क्रिष्टिनले हेड मार्फत उत्कृष्ट गोल गर्ने प्रयास गरे पनि सफलतामा परिणत हुन सकेन् । त्यसको ३ मिनेटपछि झरनाले २३ औँ मिनेटमा बाणगंगाको पोष्टमा आक्रामक प्रहार गर्यो तर पनि त्यसलाई विपक्षीको रक्षा पंतिले विफल पारिदियो । खेल रोचक भइरहेको अवस्थामा पहिलो हाफको इन्ज्यूरी समय झरनाकोे लागि भाग्यमानी सावित भयो । ३९ औँ मिनेटमा आकर्षक पासमा गोल किपरलाई छलाउँदै जर्सी नम्बर ७ का निसान सुनारले गोल गरी १–० को अग्रता दिलाए ।
पहिलो हाफमा १ शुन्यले पछि परेको अवस्थामा सुरु भएको दोश्रो हाफको सुरुवातमै बाणगंगाले गोल गर्न सफल भएको थियो । दोश्रो हाफको तेश्रो मिनेटमै बदला लिँदै विदेशी खेलाडीले गोल गर्दै बाणगंगालाई बराबरीमा ल्याए । खेलको तेश्रो मिनेटमै जर्सी नम्बर ११ का विश्वास श्रेष्ठले दिएको डि एरिया भित्रको पासलाई क्रिष्टिनले सिधै जाली चुमाए । त्यसको २ मिनेटपछि ५ औँ मिनेटमा कुञ्जलापुरले गरेको कडा प्रहारलाई बाणगंगाका गोल किपरले उत्कृष्ट बचाउ गरे । लगत्तै डि एरिया भित्र झरनाले फल गरेपछि वाणगंगाले पेनाल्टीको मौका पायो । तर त्यतिखेर तीव्र गतिका विपक्षीको लागि खतरनाक फरवार्ड जर्सी नम्बर ११ का विश्वास श्रेष्ठले बललाई जाली चुमाउन सकेनन् । गोलपोष्टको दायाँपट्टीबाट बल बाहिरियो । त्यही पेनाल्टी मिस नै बाणगंगाको लागि घातक भयो । त्यो बल गोलमा परिणत भएको भए बाणगंगाले २–१ ल्े खेल आफ्नो पक्षमा पार्न सक्थ्यो । त्यसपछि पनि बाणगंगाले २ सशक्त प्रहार गरेको थियो तर बल पोष्टमा लागेर बाहिरियो ।
विदेशी खेलाडीसहितको टिमलाई कडा टक्कर दिएको झरनाले पनि केही गोल गर्ने मौका खेर फाल्दा खेल निर्धारित समयसम्म एकएकको बराबरीमा सकियो । साँझ अबेर भैसकेकाले खेलमा थप समय भएन । खेल सिधै पेनाल्टीमा गयो । पेनाल्टीमा बाणगंगाले ३ गोल गर्न सफल भयो भने झरनाले ४ गोल गर्न सफल भयो । बाणगंगाका २ सशक्त प्रहारलाई झरनाका गोल किपर मनिस गुरुङले विफल पारिदिएपछि झरनाले प्रथम मुक्ति, राजेश, राजेन्द्र, ओम प्रकाश फुटवल प्रतियोगिताको उपाधि उचाल्यो ।

पेनाल्टीमा कसले गोल गरे ? को चुके ?

झरनाको लागि जर्सी नम्बर ११ का विश्वास श्रेष्ठ, जर्सी नम्बर ४ का डेभिड गुरुङ, १४ का सरोज तामाङ, १० का विसन अधिकारी र १२ का विश्व अधिकारीले गोल गरे भने निसान सुनरले गोल गर्न सकेनन् । सुरुमै पेनाल्टी प्रहार गरेका बाणगंगाका विदेशी खेलाडी क्रिष्टिनले गोल नगरेपछि पेनाल्टीमा पनि बाणगंगा दबाबमा थियो । प्रतियोगिताकै उकृष्ट गोल किपर बनेक झरनाका मनिस गुरुङले बाणगंगाका जर्सी नम्बर ८ क्रिष्टिन र र १७ का वभसट गुरुङको कडा प्रहारलाई डाइभमार्फत उत्कृष्ट बचाऊ गरपछि झरनाले खेल जितेको हो । बाणगंगाको तर्फबाट पेनाल्टीमा विश्वास श्रेष्ठ, अजित गुरुङ र विदेशी खेलाडी टिम्पीले गोल गर्न सफल भएका थिए ।

कसले कुन उपाधि पाए ?

प्रतियोगिताकै उत्कृष्ट खेलाडी झरनाका वर्षात गुरुङ, झरनाकै मनिस गुरुङ सर्वाधिक गोलकर्ता (३) गोल, उत्कृष्ट मिड फिल्डर वाणगंगाका रोशन सेन, वेष्ट डिफेन्स झरनाका डेभिड गुरुङ, वेष्ट गोल किपर झरनाका अनिस गुरुङ, भए भने वेष्ट कोच झरनाकै निल प्रसाद छन्तेल हुनुभएको थियो । विधागत तर्फ उत्कृष्ट हुने सबैलाई प्रमुख अतिथि शेर्पा, विशिष्ट अतिथि नेपाली कांग्रेसका कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्य, तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरी, तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष तिलक थापाले नगद ५ हजार र ट्रफीले सम्मान गर्नुभएको थियो । गत वैशाख १८ गते सुरु भएको प्रतियोगितामा कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवनबाट उत्कृष्ट ८ टोलीले सहभागिता जनाएका थिए ।

Image may contain: 2 people, people playing sport, grass, outdoor and nature

प्रकाशित मिति : २५ बैशाख २०७६ बुधबार ००:००  १० : ५० बजे