मायादेवी अनलाइन, कपिलवस्तु ।
चर्को गर्मीले कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । प्रचण्ड गर्मीले कपिलवस्तुको जनजीवन कष्टकर बन्दै छ । बैशाखको सुरुवात संगै गर्मी निरन्तर बढदै गएको छ । गर्मीले मजदुर, कृषक, विद्यार्थी तथा वृद्धवृद्धा बढि प्रभावित भएका छन् । प्रचण्ड गर्मीले गर्दा सर्वसाधारणहरु घर बाहिर निस्कनै छाडेका छन् ।
जल तथा मौसम मापन बिज्ञान बिभागको कपिलवस्तु इकाई रामनगरका रामु रेग्मीका अनुसार जिल्लाको साता यताको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सम्म पुगेको छ । मंगलवार यस बर्षकै सबै भन्दा अधिकतम तापक्रम ४० पुगेको रेग्मीले बताए ।
उनका अनुसार बिगत १० बर्ष भित्र जिल्लामा सबै भन्दा बडी ४४ डिग्री सम्म तापक्रम पुगेको छ । तापक्रम निरन्तर बृद्धि भईरहेको छ । गर्मीका कारण दैनिक कामकाजमा समेत समस्या बढेको छ । गृहणीहरु किनमेलका लागि समेत बाहिर निस्कन छाडेका छन् । दिउँसो सवारी साधन र पैदलयात्रु समेत सडकमा निकै कम देखिएका छन् ।
उता गर्मीले गर्दा सरकारी कार्यालयमा समेत सेवग्राहीको चाप घटेको छ । निकै भीडभाड हुने मालपोत, बिद्युत, प्रशासन लगायतका कार्यालयमा सेवाग्राहीको संख्या पहिलाको तुलनामा कम छ । दैनिक ज्यादा मजदुरी गरी परिवारको गुजारा चलाउदै आएका मजदुरहरु समस्यामा परेका छन् ।
तौलिहवामा बर्षौ देखि मजदुरी गरेर परिवार चलाउदै आएका कपिलवस्तु नगरपालिका– ३ डेरवाका भगेलुदास चौहानले चर्काे गर्मीले काम गर्न गाह्रो परेको बताए । दैनिक ५ सय ज्यालाले ७ जनाको परिवार पाल्दै आएका उनले काम नगरे मुखमा माड हाल्न नपाईने भएकाले गर्मी सहदै काममा भिडेको बताए ।
ओदारीका कृषक रामबृक्ष केवटले ३ कट्ठामा लगाएको तरकारी गर्मी र सुख्खाका कारण सुकेको बताए । गर्मीकै कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरु विद्यालय जान सकेका छैनन् । विद्यालयमा विद्यार्थीको सख्या ह्वात्तै घटेको छ । जिल्लाका अधिकांश बिद्यालयमा जस्ताको छानो भएकाले कोठा तातेर विद्यार्थी कक्षाकोठा मै छिर्न नमान्ने गरेको शिक्षकहरु बताउछन् । गर्मीमा बालबालिकाहरु निदाउने, रिंगटा लाग्ने भएकाले पनि पढाउन समस्या भएको शिक्षक बताउछन् ।
गर्मीले गर्दा अस्पतालहरुमा बिरामीको चाप निकै बढेको छ । जिल्ला स्थित तौलिहवा, पिपरा, बहादुरगंज अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा वृद्ध तथा बालबालिकाको संख्या बढि छ । तौलिहवा अस्पताल अकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुले दैनिक ३० देखि ५० जना झाडापखाला, पेट दुख्ने र रिङ्गटा लाग्ने, छालाका बिरामीहरु अकस्मिक उपचारका लागि आउने गरेका छन् ।
अहिले तौलिहवा अस्पतालमा दैनिक सय देखि ढेड सय जना सम्म गर्मीका कारण लाग्ने विभिन्न रोगका बिरामीहरु ओपिडी सेवा मार्फत उपचार गराई रहेका छन् । चिकित्सकहरुले अनिवार्य काम बाहेक दिउँसो घाममा बाहिर नहिड्न र प्रशस्त सफा पानी पिउन सुझाव दिएका छन् । बासी, सडेगलेका, म्याद नाघेका र बाहिर राखिएका वस्तु नखान र तातो हावा, चर्को घाममा छाता लिएर मात्र बाहिर निस्कन चिकित्सकले आग्रह गरेका छन् ।
२५ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया