काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका उपलब्धी संस्थागत गर्न नसके फेरि खतराको घण्टी बज्न सक्ने चेतावनी दिएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै प्रचण्डले अहिलेको नेतृत्वले परिवर्तनका उपलब्धी रक्षा गर्न सकेन भने खतराको घण्टी बज्न सक्ने तर्फ सचेत रहन आग्रह गरे ।
‘परिवर्तनलाई रक्षा गर्न सकेनौँ, लक्ष्यहरु पूरा गर्नका लागि त्याग, तपस्या, संकल्प नगर्ने हो र त्यही ढंगले जनप्रतिनिधिले काम नगर्ने हो भने आज होइन भोलि, भोलि नभए पर्सी खतराको घण्टी बज्न सक्छ, त्यसैले लक्ष्य पूरा गर्ने संकल्पका साथ अघि बढ्नुको विकल्प छैन’ संसद बैठकमा प्रचण्डले भने ।
उनले हिजोको जस्तै त्याग, हिजोको जस्तै तपस्या, हिजोको जस्तै बदिलान गर्ने संकल्प नेतृत्वले नगर्ने हो भने खतराको घण्टी बज्न सक्ने बताए ।
प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सफल पार्नुको विकल्प नरहेको बताए । त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैले एकता र समझदारी मार्फत अगाडि बढ्नुपर्ने बेला रहेको प्रचण्डले बताए ।
‘यहाँ प्रतिपक्षका साथीहरुलाई शंका लागेको छ, अस्ती एकजना माननीयले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा भन्नु भो, प्रतिपक्षले त्यसो भन्नु शायद प्रतिपक्षको धर्म भित्रै छ । तर, हामीले त्यसलाई सकारात्मक चुनौतीका रपमा लिने हो, सत्तापक्षले इमान्दार र जिम्मेबार भएर नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ’, प्रचण्डले भने ।
सम्बोधनका क्रममा प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष एकतावद्ध ढंगले अगाडि बढ्नुपर्ने बताए ।
‘हामीले परिवर्तनका उपलबधी रक्षा गरिसकेका छौँ, अब जे गर्दा पनि हुन्छ भन्ने बेला छैन । एकताको जिम्मेबारी पूरा भएको छैन । हामी निषेधात्मक रुपले लडे हुन्छ भन्ने समय आइसकेको छैन । त्यसकारण एकता र समझदारीमार्फत समृद्ध नेपालको निम्ती अगाडि बढौँ’ प्रचण्डले भने । राजनीति
प्रतिक्रिया