११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

फलामखानी उत्खनन् हुने भएपछि स्थानीय खुसी



नवलपरासी ।

सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने विषय उल्लेख भएसँगै स्थानीय बासिन्दामा खुसियाली छाएको छ ।

सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने विषय उल्लेख छ ।

फलामखानी पत्ता लागेको धौवादी आसपासका क्षेत्रमा पुग्न अहिले निक्कै कठिन छ । सडकको अवस्था जीर्ण छ । एकाध सवारीसाधान चल्ने गरेका छन् । यस क्षेत्रमा खानेपानीको पनि निक्कै समस्या छ ।

धौवादी आसपासका धेरै क्षेत्रमा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । फलामखानीको उत्पादन शुरु गर्नुपूर्व यस क्षेत्रमा सडक, विद्युत्, खानेपानीको सुविधा होला भन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी भएका हुन् ।

विसं ०६८ मा खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो । सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  ७ : ५३ बजे