११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

राजधानी र नामाकरणको प्रकृया लम्बियो, दाङको पक्षमा ५ सय ५३ र रुपन्देहीको पक्षमा ३५० सुझाव



बुटवल ।
प्रदेश ५ को नाम र राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ। सुझाव संकलन गरेको विशेष समिति मातहतको उपसमितिले प्रतिवेदन दिएपनि मुल समितिले अन्तिम रुप दिन नसकेपछि प्रक्रिया लम्बिएको हो।
आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ। सचिवालयले अब विज्ञ समिति गठन गरी सुझाव लिएपछि मात्रै मुल समितिको प्रतिवेदन तयार हुनेछ। यो प्रक्रिया अर्को हिउँदे अधिवेशनमा मात्रै हुने बताइएको छ।

प्रदेशसभाको हिउँदे अधिवेशन आज अन्त्य हुँदैछ।त्यसलगत्तै बजेट अधिवेशन सुरु हुने भएकाले राजधानीको विषयले प्रवेश नपाउने सांसद नै बताउँछन्। विज्ञ समिति गठन र त्यसले समेत अध्ययन गर्नुपर्ने भएकाले प्रक्रिया एक वर्ष लम्बिने सांसद बताउँछन्।
विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले विज्ञ समिति गठनका लागि सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको बताए।कार्यविधि अनुसार विज्ञ समिति बनाएर त्यसबाट सुझाव लिइन्छ, उनले भने।

उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि रुपन्देही, दाङ र नाममा लुम्बिनी रहेको छ। १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ। सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको एक सांसदले जानकारी दिए।
समितिले बनाएको प्रतिवेदनमा भने अंग्रेजी वर्णानुक्रम अनुसार नाम राखिएको छ। अर्घाखाचीदेखि प्युठान, बाके, पाल्पा, कपिलवस्तु समेत सुझावमा समेटिएका छन्। –अन्नपूर्णबाट

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  २ : ५४ बजे