काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गरे ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली कांग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको पनि बताए ।
आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ । वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको बताए ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।
उनले संक्रमणकालका बाँकी कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दाबी गरे ।
प्रतिक्रिया