११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पार्टी छोडेर टीआरएसमा गएकी विधायकमाथि कांग्रेस कार्यकर्ताले बर्साए ढुंगा र चप्पल



एजेन्सी ।
तेलांगाना राज्यमा प्रचारप्रसार गर्न पुगेकी भारतकी महिला विधायक बनोतु हरिप्रिया नाइकमाथि ढुंगा र चप्पल प्रहार गरिएको छ ।
महिला विधायक स्थानीय निकाय चुनावमा तेलंगाना राष्ट्रिय समिति (टीआरएस) उम्मेदवारको लागि प्रचार गर्न पुगेकी थिइन् । उनी पछिल्लो महिना मात्रै कांग्रेस पार्टी छोडेर टीआरएसमा सहभागी भएकी थिइन् । अहिले कांग्रेस कार्यकर्ताहरुको कडा विरोधको सामना गर्नु परिरहेको छ ।
प्रचारका लागि गाउँ पुगेकी विधायक नाइकमाथि कांग्रेस कार्यकर्ताले ढुंगा र चप्पल फ्याँक्न सुरु गरेका थिए । नाइक खम्मम जिल्लाको येल्लान्दु विधानसभा क्षेत्रकी विधायक हुन् । उनी गोविन्दराला गाउँमा टीआरएस उम्मेदवार एल. सुनीताको प्रचारप्रसार गर्न पुगेकी थिइन् । सुनीता मण्डल परिषद् सदस्यका लागि चुनाव लड्दैछिन् ।
एक कांग्रेस कार्यकर्ताले स्थानीय मिडियामा भने, ‘हामीले दिन रात मेहनत गरेर पछिल्लो वर्ष डिसेम्बरमा भएको चुनावमा नाइकलाई टीआरएससँगको कडा प्रतिस्पर्धामा जितायौं । विधायक बनेको केही महिनामा नै उनले हाम्रो विश्वासलाई तोडेर टीआरएसमा गइन् ।’
कांग्रेस कार्यकर्ताले उनीमाथि ढुंगा र चप्पल बर्साउन थालेपछि टीआरएस कार्यकर्ताहरुले विधायक नाइकलाई चारै तर्फबाट घेरेर सुरक्षा दिएका थिए । त्यसलगत्तै उनी कारमा बसेर त्यहाँबाट फर्किएकी थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  १ : ४४ बजे