बुटवल ।
प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समितिले नाम र राजधानी सिफारिश गर्नुअघि विज्ञ समूहसँग छलफल गर्ने भएको छ ।
विशेष समितिको बैठकले उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्दै अन्तिम रुप दिएर सुझाव सहित सिफारिश गर्न थप अध्ययन गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको विशेष समितिको बैठकले स्थायी राजधानीका बारेमा छलफल गर्न प्रदेश सभा सचिवालयलाई विज्ञहरु उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले जानकारी दिए ।
राजधानीका लागि सुरक्षा, मौसम, भुगोललगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने उनले बताए । उपसमितिले प्रदेश नं. ५ को नाम लुम्बिनी र राजधानी रुपन्देही वा दाङ बनाउने सुझाव सहितको प्रतिवदेन शनिबार विशेष समितिलाई बुझाएको थियो ।
उपसमिति सदस्यहरुमध्येका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मुल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई शनिबारको बैठकमा हस्तान्तरण गरेका थिए ।
२२ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया