११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

हुलाकी राजमार्गको पहल मैले गरेको हुँः झविलाल पोख्रेल



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टीका कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेलले बर्षौ देखि अलपत्र हुलाकी राजमार्ग बन्ने खबर सुन्दा खुसी लागेको बताउनुभएको छ । हुलाकी राजमार्ग समयमा बन्न नसक्दा जिल्लाका दक्षिणी क्षेत्रका नागरिकले सास्ती खेपिरहेको बेला राजमार्ग बन्ने कुराले आफुलाई निकै खुसी लागेको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
हुलाकी राजमार्गलाई बनाउनका लागि सरकारले हालै मात्र टेण्डर आहवान गरेको छ । तौलिहवा देखि बहादुरगञ्ज सम्म बन्ने यो सडक बनाउन आफुले सक्दो पहल गरेको उहाँले स्मरण गर्नुभयो । रेडियो मायादेवीको कार्यक्रम समय संवाद संग आज विहान कुराकानी गर्दै अध्यक्ष पोख्रेलले हुलाकी राजमार्गको विषय बर्षौ देखि उठिरहे पनि अहिलेको सरकारले पूरा गर्न थालेको भन्दै धन्यवाद दिनुभयो ।
अर्थमन्त्री डा. युवराज खतिवडा सुठौली भन्सार कार्यालयको उद्घाटन गर्न आउँदा अध्यक्ष पोख्रेलले निखित रुपमा हुलाकी सडकको आवाज उठाउनुभएको थियो । जिल्ला पार्टी कार्यालय तौलिहवामा भएको अर्थमन्त्री संगको छलफलमा अध्यक्ष पोख्रेलले लिखित रुपमै हुलाकी राजमार्ग बनाउन आग्रह गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेकपाका सांसद देखि जिल्ला स्तरका नेताहरु उपस्थिती थिए । अध्यक्ष पोख्रेलको लिखित मागलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आफु हुलाकी राजमार्गको विषयमा चिन्तित बनेको भन्दै तत्काल आफुले बजेट छुट्याउने घोषणा गर्नुभएको थियो ।
नभन्दै अहिलेको सरकारले हुलाकी राजमार्ग बनाउनका लागि टेण्डर खुलाए संगै जिल्लाबासीमा खुसीयाली थपिएको छ । यद्यपि कतिपय नेताले आफुहरुको पहलमा हुलाकी राजमार्ग बन्न लागेको भन्दै भ्रम छर्ने काम गरिरहेको भन्दै अध्यक्ष पोख्रेलले आपत्ति जनाउनुभयो । बर्षौ देखि हुलाकी राजमार्ग बन्नुपर्छ भन्ने माग सबैको भएपनि मैले नै गर्दा बन्न लागेको हो भनेर अनावश्यक प्रचार गर्नु राम्रो नभएको उहाँले बताउनुभयो ।
झुठो प्रचार गरी आफ्नो राजनीति नबचाउन उहाँले आग्रह गर्नुभएकोछ । जनतालाई भ्रम छरेर गर्ने राजनीतिले कसैलाई फाइदा नहुने उहाले बताउनुभयो ।
फरक प्रसंङ्गमा बोल्दै अध्यक्ष पोख्रेलले जिल्लाको पार्टीमा कुनै गुट नभएको बताउनु भएको छ । समय संवादमा बोल्दै उहाँले बाहिर हल्ला आएजस्तो पार्टीमा कुनै गुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि गुट छ भने नेकपा मात्रै गुट छ, पार्टी अब एक ढिक्का भएर जिल्लाको विकासमा लाग्छ ।’
प्रतिपक्षीहरुले पार्टीमा भाँजो हाल्न नेकपाको पार्टीमा गुट भन्दै भ्रम फैलाएर हिँड्ने गरेको उहाँको दाबी छ । मानिसको आस्था बिभिन्न विचारमा हुने भए पनि पार्टीभित्र भने केवल पार्टीको हक र अधिकार बाहेक अरु कुनै विषयमा सम्झौता हुन नसक्ने बताउनुभयो । कार्यक्रमको अन्तर्रवार्ता शुक्रबार (आज) राती १० बजेको संक्षिप्त खबर पछाडि पुनः प्रशारण सुन्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०७६ शुक्रबार ००:००  ७ : ३२ बजे