११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

करेन्ट लागेर युवकको ज्यान गयो



डडेल्धुरा ।
डडेल्धुरामा बिहीबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । अमरगढी नगरपालिका(१, दह भेटामा लत्रिएको बिजुलीको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।

काँचो काठ बोकेर ल्याउने क्रममा काठले १३३ केभीको चमेलिया जलविद्युत आयोजनाको बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको ज्यान गएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।

उनको मृत्युपछि स्थानीयले विद्युत प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक बिहिबार बेलुकादेखि १० घण्टा सडक बन्द गरे ।

मृतमका परिवारलाई विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले क्षतिपूर्ति दिने सहमतिपछि भिमदत्त राजमार्ग शुक्रबार बिहान ४ बजे खुलेको छ ।

स्थानीयले सडक बन्द गरेपछि तराईबाट ७ पहाडी जिल्लामा आवत जावत गर्ने सवारीका साधनहरु रोकिँदा यात्रुहरु बिहिबार रातभर अलपत्रमा परेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७६ शुक्रबार ००:००  ३ : २९ बजे