काठमाडौँ ।
बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएको छ । त्यहाँ हावाको गति प्रतिघण्टा १७५ किलोमिटर रहेको बताइएको छ।
यो चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । अहिले नेपालको पूर्वी तथा मध्य भागमा मौसम बदली भएको छ ।
चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै चक्रवातको प्रभावले हिमाली भूभागमा भारी हिमपात हुने भएकोले उच्च हिमाली क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद विभूति पोखरेलले उच्च हिमाली क्षेत्रमा गएकाहरुलाई यथासक्य चाडो तल झर्न सुझाव दिइन् । शुक्रबारदेखि आइतबारसम्म पर्वतारोहणमा नजान उनले आग्रह गरिन् ।
चक्रवात बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको छ। त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ । भारतको ओडिसाबाट झण्डै ११ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ ।
यो तूफान अब खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक र बालेश्वर जिल्लाको बाटो हुँदै पश्चिम बंगाल तर्फ बढ्नेछ । मौसम विभागका अनुसार तटमा सम्पर्क भएपछि आँधिको तीव्रतामा कमी आउने छ । यो तूफानका कारण ओडिसामा वर्षा सुरु भएको छ ।
उद्धारकर्मीहरुलाई हाइअलर्टमा राखिएको छ । चक्रवातको असरलाई मध्यनजर गर्दै बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ।
२० बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया