दाङ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले केपी ओली नेतृत्वको सरकार पूरै अलमलिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गिरीले ओली नेतृत्वको सरकारले कुनै कुरा पनि ठीक ढंगले सम्हाल्न नसकेको आरोप लगाउनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका नेता गिरीले वर्तमान दुईतिहाइ बहुमतको सरकार काण्डैकाण्डले भरिएको बताउनुभयो । सरकार बालुवाटार काण्ड, वाइडबडी, ३३ केजी सुनकाण्ड, निर्मला हत्याकाण्ड सबै काण्डैकाण्डले डुबेको बताउनुभयो ।
सरकारले राष्ट्रले के खोजिरहेको कुरा निर्धारण गर्न नसकेको तथा कसैलाई पनि राम्रोसँग सम्हाल्न नसकेर सरकार अलमलिएको उहाको भनाइ थियो । उहाले यस्तै अवस्था कायमै रहे बाध्य भएर प्रतिपक्षले औँला ठड्याउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
बालुवाटार जग्गाकाण्डमा प्रधानमन्त्री ओली स्वयंले नेकपाका महासचिव विष्णु पौडेललाई चोख्याउन र जोगाउन खोज्नु गलत भएको बताउनुभयो । एकातिर पौडेल निर्दोष रहेको र पौडेललाई फसाइएको भन्ने प्रधानमन्त्री ओलीले अर्कोतर्फ बालुवाटारको जग्गा रोक्का गर्नुले प्रधानमन्त्रीको चरित्र उदांगो भएको बताउनुभयो ।
त्यसैगरी, उहाले प्रदेश ५ को स्थायी राजधानी दाङको लमही र भालुवाङको बीचमा तोक्दा उपयुक्त हुने बताउनुभयो । नेता गिरीले सबैलाई पायक पर्ने स्थान भालुवाङ र लमहीको बीच नै हुनेसमेत दाबी गर्नुभयो ।
त्यो भूभाग पूर्वी रुकुमदेखि बर्दियालगायत प्रदेशका १२ वटै जिल्लाकै सेन्टरमा पर्ने हुँदा सबैलाई सहज हुने उहाको भनाइ थियो । संघीयताको मर्म्विपरीत एउटा कुनोमा अस्थायी राजधानी तोकिएको भए पनि अब प्रदेशसभाले तत्काल स्थायी राजधानी तोक्न ढिला गर्न नहुने बताउनुभयो ।
१९ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया