११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रदेश नं. १ को प्रदेशसभा बैठक स्थगित



जनकपुर ।

बिहीबार बस्ने भनिएको प्रदेश–१ को प्रदेशसभाको नियमित बैठक वैशाख २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ।

प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो। यसक्रममा हालसम्म प्रदेश र राजधानीको नाम प्रस्ताव दर्ता नभएको विषयमा कार्यव्यवस्थाको बैठक र गृहकार्य जारी रहेको बताइएको छ। प्रदेश सभाको अघिल्लो बैठकले नाम र राजधानीको लागि १९ गतेसम्मको प्रस्ताव दर्ता गराउन समय तोकेको थियो।

यसैबीच, प्रदेशको नाम र राजधानीको विषयलाई टुङ्गो लगाउन सत्तारुढ दल नेकपाको प्रदेश कमिटि र केन्द्रीयस्तरका नेताहरुको छलफल जारी रहेको छ। बिहान ११ बजेदेखि जारी बैठकका क्रममा कोशी तथा सगरमाथा अञ्चलका सांसद तथा नेतासंग प्रदेश इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज सावित्री काफ्ले, मुख्यमन्त्री शेरधन राई लगायत मन्त्रीहरुबीच छलफल भएको बताइएको छ। त्यस्तै अब मेची र अन्य अञ्चलका सांसद तथा नेताहरुसंग छलफल हुने एक नेताले जानकारी दिएका छन्।

नेकपा भित्र पनि नाम र राजधानीको विषयमा मतान्तर हुँदा यसले अन्तिम टुङ्गो पाउन नसकेको ती नेताले बताए। बुधबार बेलुकासम्मको नेकपाको बैठकमा प्रदेशको नाममा कोशी, किराँत, सगरमाथा र लिम्बुवानको विषयमा छलफल भइरहेको छ। त्यसैगरि, राजधानीको सन्र्दभमा विराटनगर, इटहरी, धरान, धनकुटा, गोठगाँउको विषय छलफलमा भइरहेको छ।

अर्कोतर्फ प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सुयर्माराज राईका अनुसार, मुख्यमन्त्री शेरधन राईले नाम र राजधानीका विषयमा सहमति जुटाउन दुईदिनको समय माग गरेको बताएका छन्। यसक्रममा प्रतिपक्षी दलसहित अन्य दलसंग छलफल हुने उनले बताए। उनका अनुसार, हालसम्म प्रदेश र राजधानीको नाम दर्ता हुन नसकेको हुनाले २१ गतेसम्मका लागि समय थप भएको हो।

यसअघि संसदले प्रदेशको नाम र राजधानीका लागि नाम प्रस्ताव दर्ताका लागि आजसम्मको समय तोकेको थियो। संसद स्थगित भएसंगै अब २१ गतेसम्म प्रस्ताव दर्ता गराउने समय तोकिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७६ बिहिबार ००:००  १ : ५२ बजे