मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सन्तराम रौतारले नदीजन्य पदार्थको मूल्य बढ्दा विकास निर्माणका काममा अवरोध सिर्जना भएको बताउनुभएको छ । चालु आर्थिक बर्षमा तय गरिएका भौतिक विकासमा नदीजन्य पदार्थको मूल्यले बढी मारमा पारेको भन्दै वडा अध्यक्ष रौतारले गुनासो गर्नुभयो । गत बर्ष जस्तै नदीजन्य पदार्थको मूल्य हुने ठानेर बाटोघाटो, पूलपुलेसा निर्माणमा बजेट छुट्टाएको भएपनी यस बर्ष नदीजन्य पदार्थको मूल्य दोब्बरले बढ्दा कामहरु अपुरो भएको बताउनुभयो ।
मायादेवी मिडिया ग्रुपको प्राविधिक सहयोग र वडा नं. ३ को आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । कार्यक्रममा वडाबासीले नदीजज्य पदार्थको मूल्य दोब्बरले बढ्दा विकासका काममा रकम अपुग भएको गुनासा गरेका थिए । सहभागीले योजनामा छुट्टाएको बजेटले आधा पनि काम नभएको भन्दै गुनासो गरेका थिए । सहभागीहरुले राखेको प्रश्नले जवाफ दिदै वडा अध्यक्ष रौतारले प्रदेशको कार्यविधिका कारण नदीजन्य पदार्थ महंगो हुन गएको बताउनुभयो । यस विषयमा नगरपालिकामा छलफल भएको भन्दै आगामी बर्ष केही सुधार हुने आश्वासन दिनुभयो ।
यसैगरी चालु आर्थिक बर्षका ३३ वटा योजना मध्ये सबै योजना कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभएको छ । वडा स्तरका लक्षित बर्गका धेरैजसो कामहरु सम्पन्न भैसकेपनि विकास निर्माणका काम नदीजन्य पदार्थ ढिला गरी खुल्दा सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । वडा अध्यक्ष रौतारले नागरिकलाई सेवाप्रवाहमा सहजता ल्याउने गरी आफुले काम गरिरहेको दाबी गर्नुभयो । वडाबासीको सहजताको लागि विहान देखि साँझ सम्म खट्ने गरेको उहाँले बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण, सुशासन लगायतका विषयमा प्रश्न उठाएका थिए । मायादेवी मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष तथा कार्यकारी निर्देशक हरि अधिकारीको सहजीकरणमा भएको कार्यक्रममा वडा सदस्य सरीतादेवी ढकाल, कुल बहादुर सोमै, राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारी लगायतले सहभागीको जवाफ दिनुभएको थियो । कार्यक्रमको सञ्चालन मायादेवी मिडिया ग्रुपका चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो ।
प्रतिक्रिया