एजेन्सी ।
भेनेजुएलामा विपक्षी नेता ख्वान ग्वाइदोले राष्ट्रपति निकोलस मदुरोको विरुद्ध एक पटक पुनः मोर्चाको आह्वान गरेका छन् । उनले राष्ट्रपति मदुरोलाई हटाउनका लागि निर्णायक कारबाहीको अपिल गरेपछि हजारौंको संख्यामा सर्वसाधारणहरु सडकमा उत्रिएका छन् । राजधानी कराकसमा एक सैन्य क्याम्पको बाहिर ग्वाइदो समर्थक र सुरक्षाकर्मीबीच झडप पनि भएको छ । ग्वाइदोले मदुरोलाई हटाउन सेनासँ सहयोग मागेका छन् ।
तर राष्ट्रपति मदुरोको बफादार सुरक्षाबलले निकै चातुर्यका साथ महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा लिएको छ ।
सैनिकहरुले प्रदर्शनकारीमाथि रबरको गोली र अश्रुग्यास पनि बर्साएका छन् । केही खबरका अनुसार, प्रदर्शनकारीहरुमाथि ज्यानै जाने गरी गोली चलाउँदा पनि उनीहरु हार मान्न तयार छैनन् ।
भेनेजुएलाका सेना प्रमुख भ्लादिमिर पड्रिनोले सेना राष्ट्रपति मदुरोको साथ रहेको जनाएका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने, ‘सेनाले नागरिकमाथि बल प्रयोग गर्यो भने त्यो निकै ठूलो गल्ती हुनेछ ।’रुस र टर्कीले पनि ग्वाइदोमाथि आरोप लगाउँदै उनले भेनेजुएलामा हिंसालाई बढवा दिने काम गरिरहेको बताएको छ । बोलिभिया र क्युबाजस्ता ल्याटिन अमेरिकी देशले पनि ग्वाइदोको आलोचना गरेका छन् । ग्वाइदोले विदेशी हितको लागि सत्ता पल्टाउने कोसिस गरिरहेको बताएका छन् ।
प्रतिक्रिया