१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

च्याम्पियन क्लवहरु एक पछि अर्को गर्दै अजाक्सको सिकार बन्दै, रियल पछि टोटनह्याम पनि पराजित



एजेन्सी ।

विश्व फुटबलका प्रेमीहरुलाई आश्चर्यजनक रुपमा चकित पार्दै डच क्लब अजाक्सले यो सिजन च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक यात्रा कायम राखेको छ ।

क्वाटरफाइनलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसहितको इटालियन क्लब युभेन्टसलाई स्तब्ध पारेको अजाक्सले मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटनह्यामलाई निरास बनायो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा टोटनह्याम राम्रो प्रदर्शनका बाबजुद अजाक्ससँग १–० ले पराजित भएको हो । अजाक्सको जितमा १५ औँ मिनेटमा डोनी भान डी बेकले गरेको गोल नै निर्णायक बन्यो ।

अधिकांश युवा खेलाडी रहेको अजाक्सले उत्कृष्ट प्रदर्शन गरेको हो । पहिलो लेगमा अवे मैदानको जितले अजाक्सको फाइनल सम्भावना बलियो बनाएको छ ।

माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई च्याम्पियन्स लिगको सम्भावना कायम राख्नका लागि अबको यात्रा निकै कठिन हुनेछ । फाइनलमा स्थान बनाउनका लागि टोटनह्यामलाई अवे मैदानमा हुने खेलमा निर्वाय जित त्यो पनि एक गोल भन्दा बढिको चाहिन्छ ।

युरोपियन कप या च्याम्पियन्स लिगको इतिहासमा घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेग गुमाएका १७ टिम मात्रै फाइनलमा पुग्न सकेका छन् । यसमा अजाक्स पनि छ, जो सन् १९९६ मा घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भएर पनि दोस्रो लेगमा जित निकाल्दै फाइनलमा पुग्न सकेको थियो ।

पहिलो हाफ सोचे जस्तो नभएको र अजाक्सको उर्जा बलियो देखिएकाले समस्या भएको टोटनह्यामका प्रशिक्षक पोकेटिनोले उल्लेख गरेका छन् । पराजित भए पनि आफूको सम्भावना नसकिएको उनको भनाई छ ।

दोस्रो लेग आउँदो हप्ताको बुधबार अजाक्सको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  ७ : ५१ बजे