बुटवल ।
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघाहा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
वडा नं. ४ का वडाध्यक्ष ओमप्रकाश पाण्डेले प्यारालाइसिसले थलिएर हिँडडुल गर्न नसक्ने ४९ वर्षीया कलावतीको जग्गा आफ्ना छोरासहित सातजनाको नाममा नामसारी गराएका हुन् ।
उनीहरुले सरकारले उपचारका लागि पैसा दिएको र सो पैसा पाउन सहीछाप गर्नुपर्ने भन्दै कागजमा जग्गाको राजीनामा गराएका छन् ।
प्रचलित मूल्य ५० लाखभन्दा बढी रहेको उक्त जग्गा चैत १४, १५ र १७ गते सातजनाले राजीनामा गराएका र त्यसको केही दिनपछि मालपोतबाट नामसारी गराएका थिए ।
वडाध्यक्ष पाण्डेका छोरा राजेशको नाममा ५ कठ्ठा भन्दा बढी जग्गा र वडा कार्यालयका सहायक सचिव रामनाथ यादवकी पत्नी प्रमिला यादव, कोटहीमाईकै सूर्यनाथ यादव, हाटिबनगाईका प्रेमकुमार यादव, लुम्बिनी साँस्कृतिक नगरपालिकाका जितबहादुर यादव, कोटहीमाईकै विश्वनाथ पाल, उनकी पत्नी सुहावती पालको नाममा बाँकी जग्गा सारिएको हो ।
छोराको नाममा जग्गा दर्ता गरेका वडाध्यक्ष पाण्डेले १० लाख ५० हजार थैली दिएको बताउँदै आएका छन् । उनीहरुले कमलादेवीलाई औषधि उपचारका लागि पैसा दिएको र जग्गासमेत पैसा दिएर खरिद गरेको दाबी गरेका छन् । तर कमलावतीले भने कसैबाट पैसा नलिएको बताएकी छन्। एक वर्षअघि पति हरिप्रसाद पालको मृत्यु भएपछि मात्रै नागरिकता बनाएकी कमलावतीका सन्तान छैनन् ।
कमलावतीको रेखदेख गर्दै आएका सुवास लोनियाका अनुसार विवाह दर्ताका आधारमा नागरिकता बनेपछि सोही समयमा जग्गाको नामसारी नसकिएको भन्दै लेखन्दास मनोहर यादवले कमलावतीलाई सहीछाप गराएका थिए ।
जग्गा नामसारी भएको पत्तो पाएपछि कमलावतीले तीन दिनअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दिएकी छन् । जग्गा नामसारीबारे वडाध्यक्षले प्रतिक्रिया दिन मानेनन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुवै पक्षलाई बोलाएर छलफल गर्ने र तथ्यका आधारमा कारबाही अघि बढ्ने बताउनुभयो ।
१८ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया