काठमाडौं ।
नायिका केकी अधिकारीलाई लिएर चलचित्र ‘छ माया छपक्कै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । निर्माता रोहित अधिकारीको लगानी रहने गरी ‘छक्का पञ्जा’ टिमसँगको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्म छायांकनमा जानुअघि नै दर्शकमाझ प्रतीक्षित बनेको छ ।
चलचित्र युनिटले सोमवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । फिल्ममा ‘छक्का पञ्जा’ टिमका साथै नायिका केकी अधिकारी पनि अनुबन्ध भएको घोषणा गरियो ।
चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् भने कथा पनि निर्देशक लामाकै हुनेछ । लामाका अनुसार यो फिल्मको कथा फरक खालको छ । फिल्म ‘छक्का पञ्जा’ को सिक्वेल नभएर बिल्कुलै फरक कथा भएको पनि लामाले दाबी गरे । यद्यपि फिल्ममा ‘छक्का पञ्जा’ टिमका शीर्ष कलाकारको अभिनय भने रहने बताइएको छ ।
दीपकराज गिरीले पटकथा तयार पारेको यो फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद देख्न सकिनेछ । यस्तै फिल्मलाई दशैँको अवसर पारेर रिलिज गरिने भएको छ ।
जेठ पहिलो साताबाट छायांकनमा जाने भनिएको यो फिल्ममा निर्माता रोहित अधिकारीको लगानी रहनेछ । दीपकराज गिरीको टिमले भने फाइदाको पचास प्रतिशत पाउने गरी सहकार्य गरेको हो ।
फिल्ममा केकी अधिकारी र दीपकराज गिरीको जोडी देख्न सकिनेछ । अन्य कलाकारको छनोट हुन बाँकी रहेको निर्माण टिमले बताएको छ ।
प्रतिक्रिया