मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले कम्युनिष्टहरुले बालुवाटार पनि कब्जामा पार्न थालेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुले आइतबार बाणगंगामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कोइरालाले बालुवाटार जग्गा प्रकरणमा नेकपा प्रमुख दोषी रहेको आरोप लगाउनु भएको हो ।
बालुवाटारको जग्गा प्रकरणको विषय चारैतिर छताछुल्ला हुँदा पनि वर्तमान सरकार त्यसको बचाउमा लागेको बताउनुभयो । देशैभरका कुनै पनि सरकारी जग्गा कब्जा भएको छ भने तुरुन्त फिर्ता हुनुपर्ने भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नु पर्ने उहाँको भनाई छ ।
केपी ओली सरकारले जनताको हितमा कुनै पनि नगरी भष्ट्राचारमा डुब्दै गएको बताउनुभयो । ३३ किलो सुनकाण्ड त्यत्तिकै सेलाएको, यातायात सिण्डिकेट अन्त्यको कुरा पनि हराएको भन्दै आफूले गरेका हरेक निर्णयमा सरकार चुक्दै गएको उहाँको आरोप छ ।
कांग्रेसको नेतृत्व तहमा सुधार आएन नि भन्ने पार्टी कार्यकर्ताको जिज्ञासामा नेता कोइरालाले अब पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म सुधारको खाँचो औल्याउनु भयो । अब बिभिन्न गुटउपगुट छोडेर पार्टीको हितमा केन्द्रदेखि स्थानीय तहसम्म नेता कार्यकर्ता मिलेर लागे मात्र कांग्रेसको लक्ष्य पुरा हुने उहाँको भनाई छ ।
जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सांसद अत्तहर कमालले पनि बोल्नु भएको थियो । युवा नेता चन्द्रकान्त पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा बिभिन्न स्थानबाट नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसैबीच नेपाल तरुण दल कपिलवस्तुले सरकारका गलत कामहरुको विरुद्धमा आइतबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलाई ज्ञापन पत्र बुझाएको हो ।
सरकार दिनप्रतिदिन जनतालाई निरास पारेर भ्रष्टाचारमा लागेकाले त्यसको विरोधमा आफूले ज्ञापन पत्र बुझाएको ठकुरीले बताउनुभयो । ३३ किलो सुनकाण्ड, निर्मला हत्याकाण्ड, वाइडबडी प्रकरण, बालुवाटार जग्गा प्रकरण लगायतमा संलग्नलाई सरकारले कारबाही गर्न नसकेको भन्दै तरुण दलले यसको विरोध गर्ने अध्यक्ष ठकुरीले बताउनु भयो ।
प्रतिक्रिया