काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरूलाई पक्राउ गर्ने काम भइरहेको उल्लेख गर्दै सरकारको आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पत्रकाहरूलाई अदालत परिसरभित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाएका हुन्। आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बूढानीलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अदालत परिसरभित्र गएर पत्रकारहरूलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पारे। सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दाबी पनि गरे। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने सभापति देउवाको भनाइ छ। सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए। महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ।
१५ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया