मायादेवी अनलाइन, वाणगंगा ।
उपभोक्ता माझ खानेपानीको विस्तार गर्दा शुद्धतालाई ख्याल गर्नुपर्ने सरोकारवालाले बताएका छन् । कपिलवस्तुको बाणगंगा १ उप्टहवामा रहेको गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको दोश्रो साधारण सभा तथा अधिवेशनमा बोल्ने वक्ताहरुले अशुद्ध खानेपानीका कारण बिभिन्न रोगहरु निम्तिने भन्दै शुद्ध खानेपानीको प्रयोगबाट मात्रै उपभोक्ता स्वस्थ हुने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले खानेपानी जीवनको सबैभन्दा महत्वपूर्ण चिज भएको भन्दै आम उपभोक्ता माझ शुद्ध खानेपानी विस्तार गर्नु आजको आवश्यकता भएको बताउनुभयो । बाणगंगा नगरमा अहिले १ लाख बढी जनसंख्या भएको र भोलीको दिनमा यसमा धेरै वृद्धि हुन सक्ने भएकाले हरेक खानेपानी संस्थानले अब ट्याङकीहरु बनाउँदा दिर्घकालिन योजनाका साथ बनाउनुपर्ने बताउनुभयो ।
आर्थिक बर्ष २०७५। ०७६ को लागि नगरले असार भित्रै नगरसभा गर्न लागेको हुनाले खानेपानी संग सम्बन्धित रहेर आफ्नो योजना प्रस्तुत गर्न पनि उहाँले सम्बन्धित संस्थानलाई आग्रह गर्नुभयो । यस पटकको बजेटमा खानेपानीलाई विशेष प्राथमिकता दिने तयारी भइरहेको भन्दै उप प्रमुख अर्यालले समयमै कार्ययोजना स्पष्ट संग उल्लेख गर्न भन्नुभएको छ ।
अहिले बाणगंगा नगरपालिकाको खानेपानी व्यवस्थापन र शुद्धिकरणको लागि १ करोड बजेट विनियोजन भएको भन्दै आवश्यकताअनुसार यसमा बढोत्तरी पनि हुन सक्ने उहाँको भनाई छ । कुनै पनि समितिले खानेपानीको लागि पाइपलाइन विस्तारमा मात्र ध्यान नदिई आम उपभोक्तालाई शुद्ध खाने पानी उपलब्ध गराउनु प्रमुख कुरा रहेको उहाँको भनाई छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री, वडा नं. १ की वडा अध्यक्ष बालकुमारी पन्तले पनि खानेपानी जीवनकै सबैभन्दा संवेदनशिल तत्व भएकाले शुद्ध खानेपानी वितरणमा संस्थाको ध्यानाकर्षण गराउनु भयो ।
बाणगंगा गजेहडा खानेपानी सरसफाई समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले मुलुकमा शुद्ध खानेपानीमा निकै लापरबाही भइरहेको बताउनु भयो । अन्य मुलुकमा बजेटको आधा हिस्सा नै उपभोक्तालाई शुद्ध खानेपानीको लागि विनियोजन गर्ने गरे पनि नेपालमा उसलाई मतलव नै नगरिएको बताउनुभयो ।
बाणगंगा नगरपालिकाले यसअघि जम्मा २० प्रतिशत मात्रै बजेट खानेपानी र सरसफाइको लागि छुट्याएकोले त्यो अहिले पर्याप्त नभएको उहाँको भनाई छ । नगरको अब हुने नगरसभा बैठकले यस विषयमा फराकिलो मन बनाएर खानेपानीमा बजेट विनियोजन गर्न कुनै कन्ज्यूस्याँई गर्न नहुने भन्दै प्रमुख अतिथि अर्यालको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष शंकर पौडेलले बिभिन्न चुनौतिका बाबजुत पनि खानेपानीको लागि धेरै कामहरु भएको बताउनुभयो । थुप्रै प्राकृतिक विपत्तीसंग लड्दै आजको अवस्थासम्म आउनु संस्थाको सफलता भएको भन्दै आगामी दिनमा कमी कमजोरी सुधार गरेर लैजानु पर्ने उहाँको भनाई छ ।
अबको पुरै ध्यान समितिको कार्यालय थप व्यवस्थित पार्दै जनतालाई कसरी सुलभ दरमा खानेपानी वितरण गर्न सकिन्छ भन्ने रहेको भन्दै सबैसंग सहयोगको अपेक्षा राख्नु भयो ।
समितिकी कार्यावहाक सचिव उमा रास्कोटीको संचालन, उपाध्यक्ष हेमा सेनको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य कृष्ण वि.क., कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण अधिकारी, सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेज प्रसाद आचार्य, समाजसेवी कमल आचार्य, शंकर पाण्डे, लेखा समिति संयोजक कृष्ण बहादुर शाही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा कार्यबाहक सचिव उमा रास्कोटीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष बद्री काफ्लेले संस्थाको हालसम्मको खर्च विवरण र आगामी आर्थिक बर्षको आयव्यय प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष काफ्लेले ८२ लाख ४५ हजार बराबरको बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
१५ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया