हुम्ला ।
हुम्लाको ताजाकोट गाउँपालिकामा पहिचान नभएको रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । शनिबार दिउँसो ताजाकोटका बिरबल रिसालको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या नौ पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।
हुम्लाको सदरमुकामबाट ताजाकोट पुग्न चार दिन लाग्छ । नेपालगञ्जबाट बाजुराको कोल्टी विमानस्थल हुँदै जाँदा चाँडो हुने भएकोले स्वास्थ्यकर्मीको टोली नेपालगञ्जमा तयारी अवस्थामा रहेको र आइतबार बिहान कोल्टी विमानस्थल हुँदै प्रभावित क्षेत्रमा जाने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
आइतबार बिहान उडान भएमा दिउँसोसम्म स्वास्थ्यकर्मी पुग्नेछन् । समस्या जटिल बन्दै गएकोले नेपालगञ्जबाट हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी लैजान गृह मन्त्रालयमार्फत पहल भैरहेको र हेलिकोप्टर उपलब्ध भएमा आइतबार बिहानै स्वास्थ्यकर्मी पुग्ने उहाँले बताउनुभयो ।
ताजाकोटको वडा नम्बर १, २ र ८ मा सुरुमा छाती दुख्ने, ज्वरो आउने र केही दिनमा ज्यान जाने समसया देखिएको र वृद्धवृद्धा तथा बालबालिका बढि प्रभावित भएको पनि प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
प्रतिक्रिया