९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिक्षकलाई कक्षाकोठामा मोवाइल प्रयोग नगर्न आग्रह !



मायादेवी अनलाइन, वाणगंगा ।
कक्षाकोठामा शिक्षकले मोवाइल प्रयोग गर्दा विद्यार्थीको पढाई प्रभावित भएको बालबालिकाहरुले गुनासो गरेका छन् । कक्षा कोठामा मोवाइलको प्रयोगका कारण शिक्षकले विद्यार्थीलाई गृहकार्य नदिएको र कक्षा कार्य हुने नगरेको विद्यार्थीले गुनासो गरेका हुन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तुको आयोजनामा मायादेवी गाउँपालिकाको पकडीमा आयोजित किशोरीहरुको शिक्षामा सुरक्षा र संरक्षण विषयक कार्यक्रमका किशोरीहरुले यस्तो कुरा बताएका हुन् ।
जिल्लाको दक्षिणी क्षेत्रका गाउँमा माध्यमिक तहको शिक्षा संचालन नहुँदा अधिकांश बालबालिकाहरु विचैमा पढ्नबाट बञ्चित हुनु परेको बताएका थिए । गाँउमा माध्यमिक स्कुल छैन्, पिपराकी इन्दुकुमारी गुप्ताले भनिन् – पढ्न टाढा जानुपर्दछ आउदा जादा बाटोमा असुरक्षा हुन्छ । त्यस्तै डुमराकी सुनिता कहारले गौतमबुद्ध प्राविको कक्षा स्तर बृद्धि गर्नुको साटो कक्षा घटाउदा धेरै बालबालिकाहरु पढ्न नपाएको बताएकी छिन् ।
बहस कार्यक्रममा विद्यालयमा शौचालय, सेनेटरी प्याड, खानेपानीको उचित प्रबन्ध नहुँदा किशोरीहरुलाई समस्या हुने गरेको सहभागी विन्द्रावती प्रजापतिले बताइन् । सहभागीले मायादेवी गाउँपालिकामा कलेज तथा प्राविधिक शिक्षा संचालन गर्न माग समेत गरेका छन् ।
माध्यमिक तहको शिक्षा निशुल्क तथा अनिवार्य भनिएता पनि विद्यार्थीले विभिन्न नाममा शुल्क विद्यालयलाई तिर्नुपरेको बताएका थिए । उनीहरुले कुनैपनि बहानामा विद्यालयले शुल्क लिन नहुने बताउदै विद्यालयमा निशुल्क पठनपाठनको व्यवस्था मिलाउन गाउँपालिकासंग अनुरोध समेत गरेका छन् । कार्यक्रममा मायादेवी गाउँपालिकाकी उपाध्यक्ष गिता तिवारीले कलेज तथा प्राविधिक शिक्षाको लागि पहल भैरहेको बताएकी छिन् ।
उनले विद्यालयको गुणस्तरीय शिक्षाका लागि अनुगमनलाई प्रभावकारी बनाउने बताइन् । कार्यक्रममा मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अमिन प्रसाद कुर्मी, इलाका प्रहरी कार्यालय पकडीका उदयभान यादव, ग्लोबल एक्सन नेपालकी श्रोत प्रशिक्षक गिता अर्याल लगाएतले किशोरीहरुको गुणस्तरीय शिक्षा, सुरक्षा र संरक्षणमा सवै निकाय जिम्मेवारी हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६ शनिबार ००:००  ७ : ०६ बजे