मायादेवी अनलाइन, वाणगंगा ।
सिपमूलक शिक्षाको विकास विना मुलुक संबृद्ध हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्तर्गत शुक्रबारबाट सुरु भएको निशुल्क तालिम उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले अबको शिक्षा सिपमूलक हुनु पर्नेमा जोड दिएका हुन् ।
तालिमको शुक्रबार उद्घाटन गर्दै संविधानसभा सदस्य बलाराम अधिकारीले सिपमूल्क र व्यवहारिक शिक्षाविना देश सवृद्ध बन्न नसक्ने भन्दै अबको पाठ्यक्रममा सिप र प्रविधिलाई जोड दिनु पर्ने बताउनुभयो । अहिलेको सरकारको ध्यान हरेक व्यक्तिलाई सिपमूलक बनाउने र स्वरोजगारमा लगाउनेमा रहेको भन्दै सबैलाई जाग्रका साथ सिप सिक्न आग्रह गर्नुभयो ।
कुनै पनि सिपमा दक्ष मानिसलाई सरकारले नै धेरै अवसर दिने भन्दै सिपलाई सानो ठुलो भनी विभेद गर्न नहुने उहाँले बताउनुभयो । बजारमा सिलाई कटाई, प्लम्बिङ, विद्धुत जडान, डल, कुसन जुनसुकै सिपको आवश्यकता रहेको भन्दै तालिम प्रदायक संस्था गण्डकी पोलि टेक्नीकल इन्स्टिच्यूटलाई धन्यबाद दिनुभयो ।
विशिष्ट अतिथिद्धय बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल र वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले सिप सिकने मात्र ठुलो कुरा नभएर तयसलाई उद्यमशिलतामा रुपान्तरण गर्ने कुरा ठुलो भएको बताउनुभयो । लामो समयदेखि कोरा किताबी ज्ञान घोकाउने शिक्षा प्रणाली भएका कारण मुलुकमा सोचेजस्तो परिवर्तन नभएको भन्दै उहाँहरुले सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्न सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तु शाखाका सचिव हरि अधिकारी, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले मुलुकलाई बनाउन हरेक व्यक्तिको हातमा सिप हुनुपर्ने बताउनुभयो । सिप हुने मान्छे कहिल्यै भोकै नाङ्गै रहन नपर्ने भएको हुँदा सिपमा विभेद नगरी जुनसुकै सिप हासिल गर्न मन भित्रैबाट लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका संयोजक बाबुराम अर्यालले नेपाल सरकारबाट प्राप्त भएको यो अवसरलाई सहभागीहरुले अधिकतम प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । सिटिइभिटी अन्तर्गतको यो तालिममा अब ३ महिनासम्म सिलाई कटाई, पलम्बिङ र विद्युत जडान सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने भएकाले सहभागीलाई उर्जाशिल भएर सिक्न अनुरोध गर्नुभयो ।
निशुल्क रुपमा प्रदान गरिएको तालिममा उत्कृष्टहरुलाई मासिक १० हजार आम्दानी गर्न कुनै समस्या नभएको भन्दै तालिमको महत्वलाई बुझ्न उहाँले सबैको ध्यानाकर्षण गराउनु भयो । व्यक्तिक रुपमा आफ्नो लगानी नभए पनि एडिविले क्रण सहयोग गरेको हुनाले सहभागीले तालिमपछि स्वरोजगार बनी सरकारलाई कर तिर्न सक्ने हैसियतमा आफूलाई उतार्न अर्यालले सबैलाई अनुरोध गर्नुभयो ।
विश्व विकास बैङ्कको क्रण सहयोगमा नेपाल सरकारले सिटिइभिटी अन्तर्गत रहेर यो दोश्रो चरणको तालिम संचालन गरेको हो । तालिममा १ सय २० जनाको सहभागिता छ । आगामी साउन १४ गते समापन हुने तालिममा हरेक दिन सिलाईकटाई, इलेक्ट्रिक, पलम्बिण्ङमा दक्ष र तालिम प्राप्त व्यक्तिले प्रशिक्षण दिनुहुने छ ।
१३ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया