९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडा अध्यक्ष अर्यालले गरे २७ हजार बराबरको व्यक्तिगत सहयोग



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले २०७६ सालमा नगरलाई पूर्ण विद्यार्थी भर्ना भएको नगर बनाउने घोषणा गर्नुभएको छ । कपिलवस्तुका स्थानीय तहमध्ये बाणगंगा नगरपालिका सबैभन्दा सवृद्ध नगरपालिका भएको हुनाले आगामी बर्षसम्म नगरका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराइ छाड्ने मेयर थारुले घोषणा गर्नुभएको हो ।
बाणगंगा नगरपालिका वडा नम्बर ११ ले विहीबार आयोजना गरेको गरिब तथा जेहेन्दार छात्र छात्रा तथा विभिन्न विद्यालय, संघसंस्थाहरुलाई पंखा वितरण कार्यक्रममा बोल्दै मेयर थारुले नगरका कोही पनि बालबालिका शिक्षाजस्तो नैसर्गिक अधिकारबाट बञ्चित हुन नहुने बताउनुभयो ।
सरकारले बिद्यार्थी भर्ना अभियान चलाइरहेकाले सबै बालबालिका तथा अभिभावकले बालबालिकालाई घरको काममा भन्दा विद्यालय पठाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । नगरको उत्कृष्ट मध्येको एक वडा नम्बर ११ ले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा संघसंस्थालाई नगद, शैक्षिक सामग्री, पंखा तथा विद्यालय पोशाक वितरण गरेर राम्रो काम गरेको भन्दै सबैले यसको सिको गर्नु पर्नेमा मेयर थारुको जोड छ ।
कार्यक्रमका विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले शैक्षिक सत्र २०७६ साल बाणगंगाको शैक्षिक व्यवस्थापनको बर्ष हुने बताउनुभयो । यसपाली योजना बनाउँदा नगरपालिकाले बनाउँदा शिक्षालाई विशेष प्राथमिकता दिएर बनाउन लागेकाले विगतमाभन्दा यस बर्ष शिक्षाका महत्वपूर्ण योजना आउने बताउनुभयो ।
वडाका सामुदायिक तथा नीजि विद्यालयका गरिब र जेहेन्दार विद्यार्थी, बिभिन्न संघसंस्थाहरुलाई एकै स्थानमा भेला गराएर वडाले गरेको सहयोग जिल्लामै नमुना भएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष अर्यालले सानो सहयोगले गरिब तथा जेहेन्दार विद्यार्थिको पढाइमा धेरै टेवा पुग्ने भन्दै वडाले यो कार्यक्रम गरेको बताउँदै आगामी ५ बर्षसम्म ११ नम्बर वडालाई नगरको उत्कृष्ट वडा बनाउने आफ्नो सोच रहेको उहाँले बताउनुभयो ।
अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडाका १० साम्दायिक तथा नीजि विद्यालयका ४० बढी गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद, शैक्षिक सामाग्री र विद्यालय पोशाकले सम्मान गरिएको छ ।
यस्तै गत बर्षको एसईईमा नीजि र सामुदायिक बिद्यालयबाट प्रथम हुने ५ छात्रछात्रालाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो । यसरी पुरसकृत हुनेमा एसइइमा जिल्लामै उत्कृष्ट अंक ल्याउने हेमराज माविका विजय थारु, श्याम कला राना र सुदिप भण्डारी, ओदारी माविका पुष्पा योगी र लिटिल स्टारका नारायण खनाल रहनु भएको छ ।
यस्तै मृगौलाको उपचार गराइरहेका, अपाङ्गता भएका व्यक्तिहरुलाई वडाध्यक्ष अर्यालले व्यक्तिगत रुपमा २७ हजार बराबरको सहयोग प्रदान गर्नुभएको छ । अपाङ्गता भएका अंकित काफ्ले, मुटुको विरामीद्धय विष्णु थारु, प्रेम परियार, दुर्घटनामा दृष्टि गुमाउनु भएका संचारकर्मी ओम प्रकाश पौडेल, सुस्त मस्तिष्क भएका रहमान अली, सुवारी थारु, वल्गु थारुलाई अर्यालले व्यक्तिगत चारचार हजारका दरले सहयोग गर्नु भएको हो ।
सामान्य रकमले पनि उहाँहरुलाई राहत हुने भएकाले आफूले सहयोग गरेको अर्यालले बताउनु भयो । बाणगंगा नगरपालिकाका सामाजिक विकास अधिकृत मदन प्रसाद घिमिरेको संचालन, वडा सदस्य यम कला केसीको स्वागतमा सम्पन्न कार्यक्रममा हेमराज माविका प्राचार्य तुलसीराम यादव, लिटिल स्टारका सुन्दर पाण्डे लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  ४ : २० बजे