९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गुल्मीमा झाडापखालाः किटाणुको पत्ता नलाग्दा उपचारमा झनै समस्या



बिष्णु कुमार आले,अर्घाखाँची ।
गुल्मीको मुसिकोट नगरपालिका वडानम्वर ४ मा रहेको दजाकोट गाउँमा ३ दिन देखि झाडा पखलाको माहमारी फैलिएको छ । दजाकोटका १ सय २ घरधुरीका ५ बर्ष मुनिका २ जना , र ५ बर्ष माथीका ४५ जना पुरूष र ५७ जना महिला गरि सिविरमा बिहिबार १०४ जना बिरामीको उपचार गरिएको शिविर प्रमुख तथा मुसिकोट नगरपालीकाका स्वास्थ्य संयोजक ढाल बहादुर जिसीले मायादेवी अनलाइनलाई बताए ।
प्रभावित क्षेत्र पशुपति निमाबिमा शिविर नै खडा गरेर दुई दिनदेखी ६ जनाको स्वास्थ्यकर्मीको टिमले बिरामीको उपचार गरिरहेका छन् । बिहिबार १०४ जनाको उपचार गरिएको छ तर बिरामीको संख्या बढ्नेक्रम जारि रहेको उनले बताए ।
गएराती र आज बिहान पनि ५ जना नयाँ बिरामी थप भएको उनले बताए । झाडापखाला बाट संक्रमित बिरामीको संख्या १०९ पुगेको छ । तल्लो नुरखोला खानेपानी मुहानको पानी खान निषेध गरिएको छ ।
अहिले प्रभावित गाँउमा अन्यत्र ठाँउबाट ट्याङकरमा खानेपानी ल्याएर बितरण गरिएको छ । झाडापखाला बाट गम्भीर भएका ३ जना बिरामीको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ भने १ जनाको बुटवल स्थित गौतम बुद्ध सामुदायीक अस्पतालको आईसियु कक्षमा राखेर थप उपचार भैरहेको संयोजक जिसीले बताए ।
झाडापखाला बाट ग्रसित बिरामीको दिशामा कस्तो खालको किटाणु छ भन्ने कुरा जिल्ला सदरमुकाम तम्घासमा पत्ता लगाउन नसकेपछि बिरामीको उपचारमा थप समस्या भएको उनले बताए ।
केसीले टेलिफोन मायादेवी अनलाइनलाई भने यो गाँउमा दुई ओटा खानेपानीका मुहान छन् माथिल्लो मुहानको पानी पिउनेलाई केही भएको छैन तर तल्लो खानेपानी मुहानको पानी खानेजति बिरामी परे ।
उपल्लो मुहानको पानी खादै आउदा केही नभएका गाँउले हरू उद्दार गर्न आउदा तल्लो मुहानको पानी खाएपछि उनिहरू बिरामी परेको उनी बताउछन् । बिरामीको दिशामा भएको किटाणु पत्ता लगाउन सिम्पोल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाउने तयारी भैरहेको बताईएको छ ।
गए राती र शुक्रबार बिहान प्रभावित क्षेत्रमा झाडापखालाका बिरामीको संख्या बढेपछी थप सहयोगका लागि रेडक्रसको टिम काठमाडौं बाट आउदै गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार खानेपानी सुदृढीकरणका लागि सिम्पोल पाल्पा प्रयोगशालामा पठाएका छौं । त्यहा पत्ता लाग्न नसके नेपालगंज पठाउने उनले बताए । झाडापखाला संक्रमित बिरामीको दिशामा कस्तो खालको किटाणु हो भन्ने कुरा तम्घासमा पत्ता लाग्न नसकेपछी उपचारमा थप समस्या भएको उपचारमा खटिएका स्वास्थ्य कर्मीको गुनासो छ भन्ने संचारकर्मीको प्रश्नको जवाफ दिदै प्रजिअ पौडेलले यहाँले उठाएको नयाँ बिषय निकै महत्वपुर्ण भएको भन्दै यस बारेमा तत्काल छलफल गरेर हामी किटाणु पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाउने उनले बताए ।
स्थानीयहरु ३ दिनदेखि माहमारीले थलिएपछि अवस्था नाजुक बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताएका छन् ।
संक्रमण थप बढ्ने डरले दुई दिनदेखि स्थानीय पशुपति निमावि बन्द भएपछि बिधालयमा अध्यनरत १ सय ५० बढि बिधार्थी पठ्नपाठनमा बन्चित भएका छन् । सवै गाउँले विरामी परेपछि वामीटक्सार र जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी झिकाएर विद्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार नुरखोला मुहानको पानी पिउने सवै घरधुरी झाडापखलाको माहामारीमा परेका हुन् ।
नगरप्रमुख सापकोटाले पानीकै कारण झाडा पखलाको महामारी फैलिएको बताए । गाउँमा आउने पानीको मुहानमाथि लुगाकपडा धुने गरेका कारण पानीमा प्रदुषण मिसिएको हुनसक्ने प्रजिअ पौडेलको भनाई छ ।
२०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो । ५६ घरधुरी जलेर नष्ट भएको थियो । अन्न, कपडा लत्ता, कागजपत्र, नगद , सुन चाँही, पशु चौपाय सबै सबै नष्ट हुँदा अनिकालग्रस्त गाउँ बनिरहेको बेला देश विदेशबाट सहयोग ओईरिएर दजाकोटवासीले राहत पाएका थिए ।
स्थानीयका अनुसार करिव १५ बर्ष अघि पनि यस्तै खालको झाडापखलाको महामारी दजाकोटमा आएको थियो । दजाकोट गृहमन्त्री रामबहादुर थापा (वादल) को पुर्ख्र्यौली घर भएको स्थान हो । अहिले प्रभावित गाँउमा थप जिल्ला अस्पताल बाट स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  १ : ०५ बजे