दाङ ।
प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जना पक्राउ परेका छन् । गाउँ र शहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार घोराहीको एक होटलबाट दुई विदेशी नागरिकसहित ५ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले छन ्।
पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिएको एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट बा १३ च ३१९६ स्कर्पियो गाडी, एक कार्टुन बाइबल, पैसा राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरु एउटा उद्देश्यले नेपाल आउने र नेपालका गाउँगाउँमा छिरेर अर्कै गतिविधि सञ्चालन गर्ने गरेको तथ्य उजागर भएको प्रहरीले बताएको छ ।
सर्वसाधारणको गुनासको आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेका व्यक्तिहरुले धर्मान्तरण गराउन विभिन्न प्रलोभन दिनुका साथै पैसासमेत वितरण गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
यसरी प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जना क्रिश्चियनलाई पक्राउ गरेपछि उनीहरूलाई छाड्न भन्दै प्रहरीमाथि ठूलो दबाब आएको प्रहरी स्रोतले बताएको छ।
पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता दफा १५८ को उप दफा २ बमोजिम जवरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको छ।
अमेरीकी महिलाको हकमा भने उनको भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको एसपी पाण्डेले बताए । भिसा रद्द गरेर पठाएमा फेरि कुनैपनि विदेशी नेपाल आउन नपाउने व्यवस्था छ ।
१२ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया