काठमाडौं ।
सत्तारुढ दल नेकपाका विभिन्न ४ भातृसंगठनहरुले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यले तोकेको कर नतिर्दासम्म सिम नै प्रयोग नगर्न अपिल गरेका छन्।
वाइसिएल नेपाल, अनेरास्ववियू, युवासंघ नेपाल र अनेरास्ववियूका अध्यक्षहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सुहलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गरेको हो ।
साथै विज्ञप्तिमा कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा अपिल गरिएको छ ।
’एनसेलले राज्यलाई तिर्नुपर्ने करको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले फैसला गरेको र ठूला करदाता कार्यालयले ७ दिनको समयसीमा तोकेकोमा त्यसमा पनि आनाकानी गरेको अवस्थाले हामीलाई ज्यादै गम्भीर बनाएको छ ।
सर्वोच्च अदालतको फैसलालाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैयाँ खेदजनक छ । कर तिर्न नपरोस भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा बाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा एनसेललाई पनि सिघ्रातिसिघ्र कर बुझाउन अपिलसमेत गरिएको छ। २४ घन्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गर्ने पनि जनाइएको छ ।
१२ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया