९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बार्सिलोनाको उपाधि धकेलियो



एजेन्सी,

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधिको उत्सवका लागि पर्खिनु पर्ने भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हराएपछि बार्सिलोनाको जित केही पर सरेको हो ।

भ्यालेन्सियाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई हराएको भए बार्सिलोनाले उपाधि पक्का गर्ने थियो । तर लिग अन्तर्गत बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–२ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन अल्माभारो मोराटा, एन्टोनी ग्रिजम्यान र एन्जल कोरियाले गोल गरे । भ्यालेन्सियाका लागि लागि केविन गामेइरो र पारेजोले गोल गरे ।

नवौँ मिनेटमा माराटाको गोलबाट एथ्लेटिकोले सुरुवाति अग्रता लियो । ३६ औँ मिनेटमा गामेइरोले गोल गरेपछि पहिलो हाफमा भ्यालेन्सियाले बराबरी गरेको हो ।

४९ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै पुनः एथ्लेटिकोलाई अग्रता दिलाए । ७७ औँ मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पायो र त्यसमा पारेजोले गोल गर्दै फेरि बराबरी गरे । तर ८१ औँ मिनेटमा कोरियाले गोल गर्दै एथ्लेटिकालाई ३–२ को जित दिलाएका हुन् ।

जितपछि दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३४ खेलबाट ७१ अंक भएको छ । शीर्षस्थानको बार्सिलोनाको ८० अंक छ । अरु खेलमा लेभान्टेले रियल बेटिसलाई ४–० तथा एथ्लेटिको बिल्बाओले लेगानेसलाई १–० ले हरायो । स्पानियोल र सेल्टा डी भिगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  ७ : ५३ बजे