९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

असन्तृष्ट नेताको प्रश्न– कहाँ गयो ‘एक व्यक्ति र एक पद’ को नारा ?



बुटवल ।
पार्टी एकता घोषणा भएको करिब एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्ला अध्यक्ष र सचिवहरूको टुंगो लगाए पनि केही नेता तथा कार्यकर्ताले तीव्र असन्तुष्टि जनाएका छन् । पार्टी एकीकरणपछिको सचिवालय बैठकले पार्टी एकीकरणको आधार ‘एक व्यक्ति र एक पद’ को मापदण्ड तय गरेको भए पनि त्यसमै विवाद उत्पन्न भएपछि जिल्ला कमिटी गठन पछि धकेलिएको थियो ।
आइतबार पूर्ववत जिल्ला अध्यक्षलाई निरन्तरता दिने निर्णय गरेपछि जिल्ला पदाधिकारी त तोकिए तर जिल्ला तथा स्थानियस्तरका केही नेता तथा कार्यकर्ताले पार्टीको यो निर्णय गलत भएको प्रतिक्रिया दिएका छन्। प्रदेश ५ मा यो असन्तुष्टि देखिएको छ ।
यहाँ तत्कालीन एमालेका जिल्ला अध्यक्षहरू अधिकांश जनप्रतिनिधी छन । पार्टीले एक व्यक्ति एक पदको मापदण्डलाई लत्याएपछि जनप्रतिनिधिका रूपमा रहेका जिल्ला नेताहरूले दोहोरो पदीय जिम्मेवारी पाएका छन् भने केही नेताहरूले सिफारिस भएर पनि पदीय जिम्मेवारी पाउन सकेनन ।
रुपन्देहीमा सचिव चयन भएका तत्कालिन माओवादी नेता दधिराम न्यौपानेले आफूले पाएको जिम्मेवारीप्रति तीव्र असन्तुष्टी व्यक्त गर्नुभयो । तत्कालिन माओवादीको जिल्ला ईन्चार्ज, केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यसमेत भइसकेका न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको बताउनुभयो ।
जिल्लामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पुनः एक पटक जिल्ला अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र नारायण जिसीको नाम सिफारिस भएको थियो ।
सचिवालयको आइतबारको बैठकले नाम परिवर्तन गरेर निर्णय गरेपछि असन्तुष्टि देखिन थालेको हो । अर्घाखाँचीमा तत्कालिन एमालेबाट प्रदेश सांसद चेतनारायण आचार्य अध्यक्ष बन्नुभएको छ भने तत्कालिन माओवादी केन्द्रबाट सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर विक सचिव बन्नुभएको छ । गुल्मीमा छत्रकोट गाउँपालिकाका अध्यक्ष तत्कालिन एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त अध्यक्ष बन्नुभएको छ ।
पाल्पामा तत्कालिन एमालेबाट नारायण आचार्य र बाँकेमा तत्कालिन माओवादी केन्द्रबाट इन्द्रप्रसाद खरेल आइपी अध्यक्ष हुनुभएको छ । उहाहरु दुवै जना प्रदेश सांसद हुनुहन्छ । रुपन्देहीबाट प्रस्तावित अध्यक्ष गोपाल भटराई र अर्घाखाचीबाट प्रस्तावित अध्यक्ष पिताम्बर भुसाल अध्यक्ष हुन नपाएपछि पार्टीले गरेका केही निर्णय असामान्य भएको बताउनुभयो ।
यसै गरी पश्चिम नवलपरासीका केही नेता र कार्यकर्ताहरूले जिल्ला तहमा समानन्तर कमिटी गठन गर्ने चेतावनीसमेत दिएका छन । पश्चिम नवलपरासीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष घनश्याम यादवलाई अध्यक्ष र तत्कालीन एमालेका संगठन विभाग प्रमुख एंव सचिव थानप्रसाद गैरेको नाम जिल्ला सचिवमा सिफारिस गरिएको थियो ।
केन्द्रीय सचिवालयले नाम परिवर्तन गरेपछि जिल्लामा असन्तुष्टि बढेको एक नेताले बताए । पश्चिम नवलपरासीमा अध्यक्षको जिम्मेवारी तत्कालीन माओवादी केन्द्रका भविश्वर तिवारीलाई दिइएको छ । तिवारी तत्कालीन माओवादीको जिल्ला इन्चार्ज हुनुन्थ्यो ।
सचिवको जिम्मेवारी तत्कालीन एमालेका जिल्ला सचिव तुलसी पासीलाई दिइएको छ । प्रदेश ५ बाट सचिवमा घटुवा हुनेमा बाँकेका अशोक कोइराला, बर्दियाका हरि ज्ञवाली, रोल्पाका हरिप्रसाद घर्ती, रुकुमका विमलकुमार पुन र नवलपरासी पश्चिमका तुलसी पासी रहेका छन्। उक्त निर्णय अनुसार प्रदेश ५ का कुल १२ जिल्लामध्ये ५ जिल्लामा तत्कालिन माओवादी अध्यक्ष रहेका छन ।
बाँकेमा आइपी खरेल, बर्दियामा भवनकुमार थारु, रोल्पामा सुरेन्द्र घर्ती, पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ र नवलपरासी पश्चिममा भविश्वर तिवारी रहेका छन । त्यसै गरी माधव नेपाल पक्षकै असहमतीका कारण विवादमा रहेको दाङ जिल्ला कमिटीको अध्यक्षमा टिकाराम खड्का अध्यक्ष हुनुभएको छ । त्यहाबाट प्रस्तावित शिव आचार्य बाहिरीनुभएको छ । नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तत्कालिन एमाले तर्फ बहालवाला अध्यक्षलाई अध्यक्ष वा सचिवको जिम्मा दिनेगरी पार्टी एकता टुंगीएको भन्दै सामाजिक सञ्जाल मार्फत नेतृत्वलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ९ : ०५ बजे