मनिला ।
मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६।२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
यसैबीच, सोमबारको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको त्यस भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ ।
राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक शहरमा भवनहरु र अरु संरचना भत्किएका छन् । त्यस शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गरेका छन् । भूकम्पको परकम्प ४०० पटकभन्दा बढी अनुभव गरिएको छ ।
अमेरिकी भौगर्भिक सर्भेको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिब चार करोड ९० लाख मानिस प्रभावित भएका छन् ।
१० बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया