मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघले वि.सं २०७६ सालको भित्ते पात्रो विमोचन गरेको छ । संघको सभाहलमा आज भएको कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले भित्तेपात्रोको विमोचन गर्नु भएको हो ।
संघले २०७५ सालमा गरेका मुख्य कार्यहरु भावी कार्यक्रम र योजनाहरुलाई समावेश गरेर भित्ते पात्रो तयार पारिएको छ । संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षतामा भएको क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश ५ का सांसद विष्णु पन्थीले समय अनुसार चल्न सके मात्र क्यालेण्डर प्रकाशनको सार्थकता हुने बताउनुभयो ।
क्यालेण्डर भनेको समय र योजना भएकाले उद्योग संघले अब हरेक कार्यहरु गर्दा त्यसैको आधारमा अघि बढ्नु पर्ने बताउनुभयो । सांसद पन्थीले उद्योग संघको काम केवल पसल व्यवसाय मात्र संचालन नगरेर अब उत्पादन र कृषिलाई जोडेर काम गर्नु समयको माग भएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच क्यालेण्डर विमोचनमा प्रदेश ५ को राजधानी कपिलवस्तुमा राख्नु पर्ने कुरा जोडतोडले उठेको छ । संघका बिभिन्न सदस्य तथा सल्लाहकारहरुले अब प्रदेश ५ को राजधानी कपिलवस्तु मै हुनुपर्ने विषय उठान गरेपछि प्रदेश सांसद पन्थीले त्यसको बारेमा बोल्नु भएको छ ।
प्रदेश ५ का सबै जिल्लाहरुको सबै पक्षहरु लेखाजोखा गर्दा कपिलवस्तु उपयुक्त भए पनि यो निकै गारो बिषय भएको सांसद पन्थीको भनाई छ । भन्ने भन्दा गर्ने कुरा गारो भएको भन्दै पन्थीले यसको लागि आफूले विशेष पहल गर्ने बताउनु भयो ।
सुरुमा नामाकरण गर्न नसक्दा अहिले निकै गारो भएको भन्दै उहाँले भन्नुभयो– नामाङकन र राजधानी टुङ्याउन अहिले गारो भएको छ । जनताबाट दबाब आएको छ । अब यो बिषय छिटै टुङगिने क्रममा छ ।”
नाम राख्ने कुरा लगभग अन्तिम अवस्थामा रहे पनि स्थायी राजधानीको विषय पेचिलो भएको उहाँको भनाई छ । प्रदेश ५ को राजधानी कपिलवस्तु बनाउन धेरै आधार भएकाले छिटै प्राविधिक सहितको टोलीले यहाँको अध्ययन गर्न लागेको उहाँले जानकारी गराउनु भयो । उहाँले स्थायी राजधानीका लागि कहाँ कति जग्गा छ, जग्गा व्यवस्थापन कसरी हुन्छ ती सवै कुराको एकिन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । साँसद पन्थीले प्रदेशको मन्त्रीपरिषद्को कार्यालय, मन्त्रालयहरु, आवास तथा अन्य पूर्वाधार सवै अट्ने गरी जग्गाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थाीय राजधानी सिफारिस समितिका सदस्य समेत रहनुभएका साँसद पन्थीले रुकुम, गुल्मी, पाल्पा लगायतबाट पनि कपिलवस्तु राजधानी हुनुपर्नेमा सकारात्मक भनाई आइरहेका भन्दै उहाँले प्रदेश राजधानीको लागि चाहिने भौतिक पूर्वाधारको तयारी र जग्गाको व्यवस्थापनमा ध्यान दिन सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका उपमेयर एवम् विशिष्ट अतिथि चक्र अर्याल, संघका अध्यक्ष उमानाथ पौडेल, सल्लाहकार बिष्णु न्यौपाने, वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल लगायतले बोल्नु भएको थियो ।
अध्यक्ष पौडेलले क्यालेण्डर निर्माणमा भूमिका खेल्ने संयोजक बिनोद पन्त सहित सबैलाई धन्यबाद दिनुभयो । उहाँले संघले आगामी जेठमा गर्न लागेको चीन भ्रमणको बिष्यमा पनि अवगत गराउनु भएको थियो ।
१० बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया