मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश ५ उद्योग पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले संक्रमणको बीचमा पार्टी स्थापना भएकाले चुनौती मोल्न पार्टीका नेता कार्यकर्ता पछि पर्न नहुने बताउनु भएको छ ।
नेकपा बाणगंगा नगर कमिटिले आयोजना गरेको नेकपा पार्टी स्थापना तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री गिरीले स्थापना देखि नै पार्टी बिभिन्न समस्या र चुनौतिसंग भिज्दै आइरहेकाले सानातिना समस्याले पार्टीलाई असर नगर्ने बताउनुभयो ।
मुलुक गणतन्त्रमा प्रवेश गरेर संघीयता कार्यान्वयन चरणमा रहेकाले बिभिन्न समस्या सिर्जना हुनु सामान्य भएको भन्दै पार्टी एक ढिक्का भएपछि यी सबै कुराको समस्या समाधान भई मुलुक सवृद्धिको चरणमा प्रवेश गरेको बताउनुभयो ।
पार्टी एकता सरल नभइरहेको अवस्थामा नेतृत्वले ठुलो त्याग गरी जिल्ला तहको संगठनलाई पूर्णता दिएकोमा खुसी व्यक्त गर्दै मन्त्री गिरीले हिजोका कुरा बिर्सेर मुलुक निर्माणमा लाग्नुपर्ने तर्क गर्नुभयो।
प्रतिक्रियाबादी तत्वहरुले अहिले पनि विकासमा अवरोध सिर्जना गरिरहेकाले अब सबै एक भएर त्यसलाई चिर्नुपर्ने बेला आएको बताउनुभयो । सदिऔँदेखि मुलुकलाई बन्धक बनाएका तत्वहरुलाई वर्तमान सरकारले गरेका विकासका काममा चित्त नबुझेकाले विरोध गरिरहेको बताउनुभयो ।
मन्त्री गिरीले आजसम्म नेकपा सरकार संघीयता कार्यान्वयन गराउन र कानुनहरु निर्माणमा लागेकाले सोचेजस्तो विकास नभए पनि अबका बर्ष विकासको बर्ष हुने बताउनुभयो ।
सोही कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यत्रय गिरीधारीलाल न्यौपाने, डोर प्रसाद उपाध्याय, विमला घिमिरे, प्रदेश कमिटी सदस्य बलराम अधिकारीले पार्टी एकताले जनतामा उत्साह जगाएको भन्दै अब सबै विकासमा लाग्नुपर्ने बताउनुभयो । पार्टीको तल्ला कमिटी सम्म एकता हुनु सामान्य कुरा नभएको भन्दै अब सबैले आ आफ्नो स्वार्थ छाडेर पार्टीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सरकारले गरेका राम्रा कामलाई जनता समक्ष पु¥याउनु अहिलेका नेता कार्यकर्ताको प्रमुख जिम्मेवारी रहेको भन्दै अब आफुले त्यही अनुसार योजना बनाउने बताउनुभयो ।
अब जिल्लामा पार्टीका गतिविधिहरु व्यापक रुपमा गर्न जरुरी रहेको भन्दै वाणगंगा नगर कमिटीका सम्पूर्ण सदस्यहरुलाई बधाई दिनुभयो । बाणगंगा नगरकमिटि अध्यक्ष विश्व कार्कीको अध्यक्षता, सचिव टेकेन्द्र क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वाणगंगाका ११ ओटै नगर कमिटिका अध्यक्ष लगायतका सम्पूर्ण सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ ।
मन्त्री गिरीले सबैलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरीको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपाका जिल्ला सचिव राम चन्द्र शाह, प्रदेश कमिटि सदस्य कृष्ण पौडेल, सुकई थारु, रुद्रलाल बञ्जाडे, प्रभा पौडेल, जोनी बञ्जाडे लगायतको उपस्थिति रहेको थियो भने बिभिन्न सांस्कृतिक कला र ब्यंग्यात्मक प्रहशन समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया