९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेकपा कपिलवस्तुको अध्यक्षमा पोख्रेल, सचिवमा शाह



मायादेवी अनलाइन, वाणगंगा ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला समितिहरुका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो । ‘लामो समयदेखि टुंगिन बाँकी सांगठनिक एकीकरणमा ७७ जिल्ला कमिटीहरुका अध्यक्ष र सचिवका बारेमा टुंगो लगाएको छ’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।’
केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्य्विभाजन पर्ने पनि उनले बताए । त्यस्तै सचिवालय बैठकले ७१ औं पार्टी स्थापना दिवसको अवसरमा सोमबार दिउँसो १ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
यसैबीच नेकपा कपिलवस्तुको अध्यक्षमा झविलाल पोख्रेल चयन हुनु भएको छ । पूर्व एमालेका पूर्व अध्यक्ष समेत रहनु भएका पोख्रेल औपचारिक रुपमा नेकपा कपिलवस्तुको अध्यक्ष बन्नु भएको हो । यस्तै सचिवमा रामचन्द्र शाह विष्णु चयन हुनु भएको छ ।
उहाँहरुको औपचारिक घोषणा भने सोमबार हुने छ । उहाँहरु अध्यक्ष भएको थाहा पाए पछि सामाजिक संजालमा पोख्रेल र शाहलाई बधाइ दिनेको ओइरो लागेको छ ।
यस्तै नेकपा बाणगंगा कमिटिले सोमबार वडा कमिटीलाई सपथ ग्रहण गराउने भएको छ । प्रदेश ५ का उद्योग पर्यटन तथा वन बातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
कार्यक्रम सिद्धार्थ क्याम्पसको सभाहलमा मध्यान्ह १२ बजे कार्यक्रम हुन लागेको बाणगंगा नगर अध्यक्ष विश्व कार्कीले जानकारी दिनुभयो । गत हप्ता मात्र जिल्ला कमिटिको वैठकले नगरको वडा कमिटिलाई अनुमोदन गरेको थियो । यस्तै सोमबार नै मन्त्री गिरीले नगर कमिटिको कार्यालय ४ नम्बरको पनि उद्घाटन गर्नु हुने कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : ९ बैशाख २०७६ सोमबार ००:००  १ : १५ बजे