मायादेवी अनाइन, बुटवल ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता र पार्टी कार्यकर्ताबीच सुमधुर सम्बन्ध नहुँदा पार्टी विग्रिएको बताउनु भएको छ । बुटवलमा बीपी अध्ययन प्रतिष्ठानको अवलोकनपछि संचारकर्मीसंग कुराकानी गर्दै उहाँले नेता र कार्यकर्तामा ‘तार टुटेको फोन’जस्तै सम्बन्ध भएको भन्दै कांग्रेस आफैमा सुधारिनु पर्ने बताउनु भयो ।
पार्टी सभापति शेर बहादुर देउवाका विश्वास पात्र पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणसंग एकै स्थानमा देखा पर्नुभएका पौडेलले अब पार्टीका कमीकमजोरी केलाएर पार्टी सुध्रन जरुरी रहेको बताउनु भयो । उहाले भन्नुभयो–”अब नेता र पार्टी कार्यकर्ताबीच सुमधुर सम्बन्ध हुनुपर्दछ ।
उहाले ‘उपहार ग्रहण गरेको भन्दै बीपीले आफ्नै भाइलाई स्वकीय सचिववाट बर्खास्त गरे, तर आज घाँटीघाँटीसम्म भ्रष्टाचार र विलासितामा डुबेका नेताहरु कुम्भकर्ण शैलीमा बसिरहेका बताउनु भयो । यसले कार्यकर्तामा चरम निरासा सिर्जना गरेको छ । उहाँले बीपीलाई आर्दश मानेर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्दै पार्टीलाई भ्रष्टाचारबाट जोगाउनु पर्ने बताउनु भयो ।
जीवनभरि कुनै पनि भ्रष्टाचारको दाग नलागेका एक मात्र नेता बीपी भएको जिकिर गर्दै पौडेलले कर्मयोगी बीपी सबैका आर्दश रहेको बताउनु भयो । बीपी परिवर्तनकारी नेता मात्र नभएर भ्रष्टाचार नगर्ने नेता पनि भएकाले उहाँबाट धेरै पाठ सिक्न जरुरी रहेको आवश्यकता औँल्याउनु भयो ।
अर्को प्रसंगमा पौडेलले भूमाफियाहरुसँग मिलेर कब्जा गरिएका सरकारी जग्गाहरु तुरुन्त फिर्ता हुनुपर्ने माग गर्नुभयो । सरकारी जग्गा हडप्नेहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउनु भएका उहाँले भन्नुभयो– ‘देशभर यस्ता धेरै छन् भन्ने कुरा आएको छ, सबै सम्पत्ति खोजी गर्नुपर्छ र राज्यले आफ्नो स्वामित्वमा राख्नुपर्छ।’ बालुवाटारको जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलप्रति लक्षित गर्दै उहाँले राज्यको सम्पत्ति आफ्नो बनाउनेहरुबाट फिर्ता ल्याउनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बीपीप्रति समर्पित हुन पार्टी नै लाग्नु पर्ने बताउनुभयो । नेपाललाई विश्वमा चिनाउन सगरमाथा, गौतमबुद्धको जन्मस्थल भएजस्तै राजनीतीक रुपमा बीपी कोईरालाको देश भनेर नेपाल चिनिने गरेको बताउनु भयो । त्यस्तै केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले बीपी कोईरालासँग अहिलेका कुनै नेताको तुलना गर्न नसकिने बताउनु भयो ।
बीपी कोईराला र उनकाको विचारमाथि अहिले अन्याय भएको भन्दै बीपी कोईरालालाई नेल्सन मण्डेलासँग मात्र तुलना गर्न सकिने विचार उहाँले राख्नुभयो । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले कांग्रेस तार चुडेको फोन जस्तै भएको बताउनु भयो ।
प्रतिक्रिया