१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नेकपाको तल्लो एकतामा ब्रेक थ्रु, पूर्व एमालेलाई ४५ र माओवादीलाई ३२ को भागवण्डा



काठमाडौँ  ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु निश्चित मापदण्ड बनाएर तल्लो तहको एकता गर्ने सहमति नजिक पुगेका छन् । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिले एक्लाएक्लै छलफल गरी एक खाका तयार पारेको र त्यसमा वरिष्ठ नेता माधव कुमार नेपालको पनि सहमति खोज्ने प्रयास जारी रहेको बुझिएको छ ।

स्रोतका अनुसार आइतबार अध्यक्षद्धय ओली र दाहालले नेता नेपाललाई बालुवाटार बोलाएर खाकामा सहमत गराउने योजनामा छन् । उक्त छलफलमा पछिल्लो समय जग्गा प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेललाई समेत डाकिएको छ । उनीहरुले सोमबार एकताको सहमतिको खाका सार्वजनिक गर्ने तयारी समेत गरेको स्रोत बताउँछ ।

ओली र दाहालबीच जिल्ला तहको एकतामा पूर्व एमालले ४५ र माओवादीले ३२ को भागवण्डा गरेका छन् । तर त्यो सबै मापदण्ड अनुसार तय गरेको भन्नेमा नेता नेपाललाई सहमत गराउने योजनामा ओली र दाहाल छन् ।

माथिल्लो तहमा पार्टी एकता भएको एक वर्ष पुग्नै लाग्दा तल्लो तहको एकताका लागि सहमति बन्न लागेको हो । यसअघि अध्यक्षद्वय ओली र दाहालकै बिलम्बका कारण पार्टी एकता प्रक्रिया अघि नबढेको भन्दै उनीहरुको व्यापक आलोचना भएको थियो । पूर्व एमाले र माओवादीबीच गत वर्ष जेठमा एकताको घोषणा भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ३ : ४९ बजे