१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

महिला राष्ट्रिय फुटवलः एपिएफको पोस्ट्मा आर्मीको ३ गोल



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
प्रदेश ५ मा संचालन भइरहेको आठौ राष्ट्रिय खेलकुद अन्र्तगत कपिलवस्तुको बुद्ध रंगशालामा जारी महिला फुटवलमा त्रिभुवन आर्मी क्लबले सशस्त्रको एपिएफलाई शनिबार पराजित गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएको एपिएफ त्रिभुवन आर्मीसंग भने खेलको अन्तिम समय सम्म ३–० ले स्तब्ध हुन बाध्य भयो । पहिलो हाफको ४० मिनेटसम्म दुवै टोलीले उत्कृष्ट खेल पस्किए पनि गोल भने हुन सकेको थिएन ।
तर दोश्रो हाफमा आर्मीले उत्कृष्ट पुनरागमन गर्यो । धेरै समय बल आफ्नो नियन्त्रणमा राखेर गोलका सुन्दर अवसर पाए पनि एपिएफको तर्फबाट खेलाडीले बललाई जाली चुमाउन सकेनन् । यसको फाइदा उठाउँदै दोश्रो हाफको १० औँ मिनेटमा आर्मीकी जर्सी नं. २३ की खेलाडी इन्दिरा राईले पहिलो आकर्षक गोल गर्दै खाता खोलिन् । दर्शकको लागि रोचक खेल भइरहेको अवस्थामा आर्मीले दोश्रो हाफको २४ औँ मिनेटमा अर्को गोल थप्यो ।
यतिखेर जर्सी नं. ९ की शर्मिला थापा चम्किन् । उनले गरेको कडा प्रहारलाई रोक्न एपिएफकी किपरलाई कुनै मौका थिएन । बल आफ्नो पक्षमा पारे पनि आर्मीको बलियो रक्षापङ्ती तोड्न एपिएफलाई हम्मेहम्मे भएको थियो । २–० ले पछि परेको अवस्थामा पनि एपिएफले आर्मीलाई दबाबमा राखेको थियो तर पनि केही लागेन ।
एपिएफका राष्ट्रिय खेलाडी सावित्रा भण्डारी, अनु लामा र अनिता केसीले आशादित खेल पस्कन नसकिरहेको अवस्थामा आर्मीले फेरि अर्को गोल थप्यो । ६९ औं मिनेटमा जर्सी नं. १० की कृष्णा खत्रीले आर्मीको लागि तेश्रो गोल गरेपछि एफिएफको तर्फबाट खेल गुमिसकेको थियो ।
खेलको सुरुदेखि नै गोल गर्ने केही अवसर पाए पनि साम्बाले सदुपयोग गर्न नसक्दा एपिएफलले आर्मीलाई नतिजा सुम्पन मात्र बाध्य भएन प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्ने मौका पनि गुमायो । यसअघि डबल ह्याट्रिकसम्म गरेकी एपिएफकी साम्बाले गरेका पटक–पटकका प्रहार पोष्ट बाहिर जाँदा उनका समर्थक निरास देखिएका थिए ।
शनिबार १ गोल सहित उत्कृष्ट खेल पस्केकी आर्मीकी जर्सी नम्बर २३ की खेलाडी इन्दिरा राई प्लेयर अफ दि म्याच घोषित भइन ।

उनलाई नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले ट्रफी प्रदान गर्नुभएको थियो । दुवै विभागिय टिम भएकाले शनिबारको खेल हिजो अस्तिको भन्दा बढी आक्रमक र तनावपूर्ण देखिन्थ्यो । शनिबारको खेलमा ३ जना खेलाडीले पहेँलो कार्ड प्राप्त गरे ।
आर्मीकी गोल किपर, एफिएफकी अनिता केसी र जर्सी नम्बर ९ की खेलाडी सावित्रा भण्डारीले पहेँलो कार्ड प्राप्त गरे । शनिबारको जितसंगै आर्मीले ३ खेलमा ३ जित सहित ९ अंक बटुलेको छ भने एक खेल बढी खेलकोे एफिएफको ३ मा जित र १ मा हार सहित ९ अंक नै बटुलेको छ ।
आइतबार पनि २ खेल
प्रतियोगिता अन्तर्गत आइतबार पनि २ खेल हुँदै छन् । पहिलो खेलमा विहान ७ बजे गण्डकी प्रदेशले प्रदेश १ को सामना गर्ने छ । दोश्रो खेलमा अपरान्ह ४ बजे त्रिभुवन आर्मीले कर्णालीको सामना गर्ने छ ।
प्रतियोगितामा एक खेलमा पनि जित हासिल नगरेको कर्णाली र प्रदेश १ अंकविहिन छन् भने गण्डकी प्रदेशले १ खेल जितेर ३ अंक बटुलेको छ । आइतबारको खेलले समुह विजेता र उपविजेताको टुङ्गो लगाउने छ ।
कपिलवस्तुमा एक चरणको खेल भइरहेको छ भने दाङमा अर्को चरणको खेल भइरहेको छ । दुवै स्थानका विजेता र उपविजेता टोलीले अन्तिम ४ मा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  २ : २७ बजे