१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मुलुकको विकास देख्न नसक्नेले भ्रम फैलाएः प्रधानमन्त्री ओली



बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको बाटोमा अघि बढेको देखेर विरोधीहरुले भ्रम फैलाउन थालेका बताएका छन् ।
बुटवलमा जितगढी उत्सवको मूल समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारको समृद्धिको यात्रा देख्न नचाहनेहरु धर्म, समुदाय र ज्योतिषीहरुलाई उक्साएर अनावश्यक भ्रम फैलाउन लागिपरेको बताए ।
प्रधानमन्त्री ओलीले गणतन्त्र हटेर राजसंस्था फर्किने, प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्री हुने योग रहेकोजस्ता ज्योतिषीहरुको भविष्यवाणीप्रति संकेत गर्दै त्यसका पछाडि नलाग्न आग्रह गरे ।

उनले राजनीतिक स्वार्थ पूरा नभएपछि ज्योतिषीलाई लोभ देखाएर भ्रमपूर्ण भविष्यवाणी गर्न उक्साएको बताए ।

‘केही राजनीतिक स्वार्थका लागि पनि जनताकहाँ जाँदैन, ज्योतिषीकहाँ जान्छ र यसो भनिदिनुपर्‍यो भन्छ–उनले भने–आजको आवश्यकताका लागि विकासका निम्ति काम गर्नुप¥यो, ज्योतिषीकहाँ गएर हुँदैन ।’
उनले नेपाली सेनाको बारेमा पनि केही भनाई राखे । उनले नेपाली सेनाको योगदान देश र राष्ट्रसँग जोडिने भन्दै सेनाको बलिदान कुनै व्यक्ति विशेषका लागि नभई देशका लागि हुने बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, कांग्रेस नेता बालकृष्ण खाँण, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बोल्दै जितगढी किल्लालाई मुलुककै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ९ : १० बजे