१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चन्द्रकलाको लगातार दोस्रो कीर्तिमान



दाङ ।
आठौँ राष्ट्रिय खेलकुदमा चन्द्रकला दामगादेले लगातार दोस्रो कीर्तिमान बनाएकी छिन् । दाङमा जारी एथ्लेटिक्सको पहिलो दिन (बिहिबार) सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी चन्द्रकलाले शुक्रबार ज्याभलिङ थ्रोमा आफ्नै नाममा भएको कीर्तिमान तोडेकी हुन् । सातौँ राष्ट्रिय खेलकुदमा उनले बनाएको ४३ दशमलव ९४ मिटरको कीर्तिमानमा सुधार गर्दै ४४ दशमलव ९४ मिटर थ्रो गर्दै स्वर्ण जितिन् ।
त्रिभुवन आर्मीकी लक्ष्मी थारुले ४१ दशमलव २६ मिटर थ्रो गर्दै रजत तथा एपिएफकी सिमा कुमारी थारुले ३८ दशमलव ३० मिटर थ्रो गर्दै काश्य पदक जितिन् । त्यस्तै पुरुष तर्फको ज्याभलिङमा त्रिभुवन आर्मीका रोहीत चौधरीले स्वर्ण जिते ।
उनले ५६ दशमलव ५८ मिटर थ्रो गरेका थिए । ५३ दशमलव ३८ मिटर थ्रो गर्दै एपिएफका मनोज डगौराले रजत र पुलिसका बिरेन्द्र चौधरीले ५२ दशमलव ५३ मिटर थ्रो गर्दै काश्य जिते ।
शुक्रबार भएको लंगजम्पको पुरुषतर्फ त्रिभुवन आर्मीका डिल्ली खत्रीले ६ दशमलव ९६ मिटर जम्प हान्दै स्वर्ण जिते । ६ दशमलव ७२ मिटर जम्प हानेका कर्णाली प्रदेशका भुवन महतोले रजत तथा पुलिसका गोपाल चौधरीले ६ दशमलव ३६ मिटर जम्प हान्दा काश्यमा चित्त बुझाए । महिलातर्फको लङ्गजम्प त्रिभुवन आर्मीकी कृष्ण चौधरीले जितिन् । स्वर्ण जित्ने क्रममा उनले पाँच दशमलव २१ मिटर जम्प हानिन् ।
एपिएफकी सिला चौधरीले पाँच दशमलव १४ मिटर जम्प हान्दा रजत जितिन् र काश्यमा प्रदेश नम्बर पाँचकी जयरानी चौधरीले पाँच दशमलव ११ मिटर जम्प हानिन् ।
त्यस्तै १५ सय मिटरको पुरुष तर्फ त्रिभुवन आर्मीका टंक कार्कीले चार दशमलव १९ मिनेटमा दौड पुरा गर्दै स्वर्ण जित्न सफल भए । आर्मीकै उमेश मस्र्याङदी मगरले चार दशमलव ३१ सेकेन्ड लगाउँदै रजत र एपिएफका सन्तोष बिष्टले काश्य पदक जिते । उनले दुरी पार गर्न चार दशमलव ८२ सेकेन्ड लगाएका थिए ।
त्यस्तै महिलातर्फको १५ सय तर्फको दौड आर्मीकी सरस्वती भट्टराईले जितिन् । उनले स्वर्ण जित्नलाई चार दशमलव ३६ सेकेन्ड समय लगाइन् । प्रदेश नम्बर तीनकी सन्तोषी श्रेष्ठले चार मिनेट ३६ दशमलव सात सेकेन्डमा दौड पुरा गर्दै रजत तथा एपिएफकी फुलमती रानाले चार मिनेट ४८ दशमलव पाँच सेकेन्डमा पुरी पार गर्दै काश्य पदकमा चित्त बुझाइन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  २ : २५ बजे