१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पुरुष फुटवलमा प्रदेश ५ द्धारा एपिएफ पराजित, बाणगंगाका सञ्जु बने नायक



मायादेवी अनलाइन, वाणगंगा ।

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भईरहेको पुरुष फुटवलमा घरेलु टोली प्रदेश ५ विजयी भएको छ । आज विहान भएको खेलमा प्रदेश ५ ले बलियो प्रतिद्वन्दी एफिएफलाई ३-२ गोलले पराजित गरेको हो । आजको खेलमा सञ्जु सेनले निर्णायक गोल गरे । पहिलो हाफमा २-१ ले पछि परेको स्थिती उल्टाउँदै प्रदेश ५ ले दोस्रो हाफमा दुई गोल गर्यो ।
प्रदेश नं. ५ को तर्फबाट जर्सी नं. ९ का पूर्ण गुरुङले एक गोल गरेपनि पहिलो हाफमा नतिजा २–१ ले सशस्त्र प्रहरीको एपिएफको पक्षमा थियो । दोस्रो हाफमा लयमा देखिएको प्रदेश ५ ले थप दुई गोल गर्न सफल भयो ।
दोस्रो हाफमा जर्सी नं. ७ का विवेक पुनले एक गोल गरी खेल बराबरी बनाएको अवस्थामा कपिलवस्तु वाणगंगाका उदयिमान खेलाडी जर्सी नं. ८ का सञ्जु सेनले निर्णायक गोल गरी प्रदेश ५ लाई जिताए ।
त्यसपछि प्रदेश ५ लाई दबाबमा राखेको एपिएफले गोल गर्ने प्रयास गरेपनि जाली चुमाउन नसकेपछि निर्धारित समयमा नतिजा प्रदेश ५ लाई सुम्पन बाध्य भएको थियो ।
सञ्जु कपिलवस्तुको प्रतिनिधित्व गर्दै प्रदेश ५ को टिममा सहभागी भएका हुन् । सेन बाणगंगा ४ झुँगाको मुहान एफसीबाट क्लव फुटवल खेल्दै आइरहेका छन् ।
यो जित संगै प्रदेश ५ ले लगातार दोस्रो जित निकाल्दै ६ अंक बटुलेको छ । यस अघिको पहिलो खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । यो खेलमा पनि कपिलवस्तुका रोशन सेन नायक बनेका थिए ।

 

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  ५ : ०९ बजे