१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पुलिसको विजयी सुरुवात, सुदुरपश्चिम पराजित



बुटवल ।

आठौ राष्ट्रिय खेलकुद अन्तर्गत बिहिबार भएको पहिलो पुरुष फुटबल प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लब विजयी भएको छ।

बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुदुरपश्चिम प्रदेशलाई २–० ले हराउँदै पुलिस विजयी भएको हो। विजयी भएको पुलिसले ३ अंक जोडेको छ। नेपाल पुलिस क्लबका लागि खेलको ३६ औं मिनेटमा भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाल पुलिस क्वलले दोस्रो हाफमा थप एक गोल गर्दै २–० को अग्रता बनायो। खेलको ६० औं मिनेटमा रवि पासवानले गोल गरेका थिए।

त्यसअघि सुदुरपश्चिमका गोल रक्षक टेकेन्द्र थापा डिबक्सबाट बल क्लियर गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। १० खेलाडिमा सिमित सुदुरपश्चिम प्रदेशले केही अवसर प्राप्त गरेपनि गोल गर्न बाट चुक्दा अंकविहिन बन्यो।

त्यस्तै बिहिबारै भएको अर्को खेलमा कर्णाली प्रदेश र प्रदेश नं. २ को खेल बराबरीमा सकिएको छ। दुवै टिमले निर्धा्रित समयमा ४–४ गोल गर्न सफल भएका थिए।

बुटवलमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यस मध्ये बाट अंकका आधारमा दुई टिम फाईनलका लागि नेपालगञ्ज जानेछन्। बुटवलमा नेपाल आर्मी, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, प्रदेश नंं २ र सुदुरपश्चिममाञ्चल प्रदेशले प्रतिस्पधा गर्नेछन्। प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान नेपाल आर्मी र नेपाल पुलिस क्लब  भिड्नेछन्।

सफ्ट टेनिस सुरु

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुटवलमा सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रतियोगिता बैशाख ११ गते सकिनेछ । पहिलो दिन छनोट चरणका खेलहरु सम्पन्न भएका छन्।

बुटवल लन टेनिस मैदानमा जारी प्रतियोगिताको बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  ५ : २५ बजे