१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विप्लवको बन्द फिर्ता, दिनभर ठाउँठाउँको जनजीवन त्रसित !



मायादेवी अनलाइन, वाणगंगा ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द विहीबार साँझ देखि फिर्ता भएको छ । सरकारले नेकपाका गतिविधि माथि प्रतिबन्ध लगाएको छ । यसैको विरोधमा विहीबार नेकपाले नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको कारण विहीबार विहानै देखि कपिलवस्तुको जनजिवन प्रभावित बन्यो । बन्दकर्ताहरु सडकमा नदेखिए पनि बन्दको प्रभाव कपिलवस्तुमा दिनभर रह्यो । यद्यपि जिल्लाको दक्षिणी क्षेत्रमा भने बन्दको आंशिक मात्र प्रभाव परेको थियो ।

जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर, पकडी लगायतका बजार खुल्ला रहे भने साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आए । तर, पूर्व पश्चिम महेन्द्र राजमार्गले सटेका बजार तथा पसलहरु पूर्ण रुपमा बन्द रहे भने साना सवारी साधन छिटफुट रुपमा सञ्चालनमा आएपनि ठूला सवारी साधन दिनभर चलेनन् ।

यातायात सञ्चालन नहुँदा यात्रारत यात्रुलाई गन्तव्यमा पुग्न समस्या भयो । यस्तै बन्दको पूर्ण प्रभाव जिल्लाका शैक्षिक संस्थामा देखियो । दिनभर नीजि तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा आएनन । बन्दलाई सफल बनाउनका लागि विप्लवका कार्यकर्ताले भूमिगत शैली अपनाउँदै वातावरणलाई त्रसित बनाएका थिए । प्रदेश ५ का विभिन्न जिल्लामा शंस्कापद वस्तु फेला पारे पनि कपिलवस्तुमा कुनै त्यस्तो गतिविधि हुन नपाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले बन्दको बेला कपिलवस्तुमा कुनै त्यस्तो अप्रिय घटना नभएको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । यता बन्दको प्रभाव प्रदेश ५ का विभिन्न जिल्लामा पूर्ण रुपमा परेको छ । रुपन्देही, नवलपरासी, पाल्पा, गूल्मी, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा लगायतका जिल्लामा बन्दको पूर्ण प्रभाव परेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।
ठाउँ ठाउँमा शंस्कापद बस्तु फेला !

रुपन्देहीका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लका अनुसार तिलोत्तमा १५ कोटिहवा र कञ्चन गाउँपालिका नजिकै शंकास्पद बस्तु फेला परेको हो ।

बुटवलको सिर्जनानगरमा ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएको उहाले बताउनुभयो । जसका कारण बुटवल क्षेत्रमा ठूलो आवाज सुनिएको थियो । यस्तै बुटवलमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । ट्राफिक चोक नजिकै रहेको शिवम् मेशिनरी स्टोर्स अगाडि अशोकाको रुखमुनि परालमाथि शंकास्पद वस्तु फेला परेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई डिस्पोज गर्दा ठूलो आवाज आएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सो वस्तु बम नभई प्लाष्टिकको बोतल र तारहरू भएको बताउनुभयो ।

यता पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।
उहाका अनुसार विस्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । कार्यालयको झ्यालका सिसा फुटेका छन् । कार्यालयका कम्प्युटरमा समेत क्षति पुगेको छ ।
आज बिहान साढे एक बजेतिर भएको विस्फोट कसले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले प्रहरीले नेकपाले नै विष्फोट गराएको हुनसक्ने आशंका गरेको छ ।
उता चितवनका तीन ठाउँमा बिहीबार बिहान सिलिन्डर बम बिस्फोट भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको दिन बिहीबार बिहानै तीन ठाउँमा सिलिन्डर बम विस्फोट भएको प्रहरीले जनाएको छ । तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते भएका छन् । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्दा कालिभन्ज्याङ गणका धर्मबहादुर थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।
यसैबीच नवलपुरमा भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आर जे ०२ जिबि २८७० नम्बरको ट्रकमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  २ : ०४ बजे