चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत कपिलवस्तुको बुद्धरंगशालामा जारी महिला राष्ट्रिय फुटवलमा एपिएफले दोश्रो खेलमा पनि फराकिलो अन्तर्गतको जित हासिल गरेको छ । विहीबार अपरान्ह भएको खेलमा प्रतियोगिताकै सशक्त मानिएको सशस्त्र प्रहरी बलको एफिएफले कर्णाली प्रदेशको पोष्टमा २३ गोलको बर्षा नै गरेको हो ।
एपिएफलाई जिताउन २ जना खेलाडीले डबल ह्याट्रिक गरेका छन् । त्यसमध्ये दर्शकहरुको आकर्षण बनेकी जर्सी नम्बर ९ की खेलाडी सावित्रा भण्डारी (साम्बा) ले ७ गोल गरिन् भने जर्सी नम्बर १० की अनु लामाले ६ गोल गरिन् । खेल सुरु भएको तेश्रो मिनेटमा जर्सी नम्बर १६ की मञ्जु डोङबाट खाता खोलेको एपिएफले अन्तिम सम्म आइपुग्दा थप २२ गोल गर्न पुग्यो ।
त्यसपछि खेलको सातौँ, आठौँ र नवौँ मिनेटमा अनिता बस्नेत, सावित्रा भण्डारी र रेनुका नगरकोटीले क्रमशः एक–एक गोल गरे । एकपटक पनि विपक्षीको पोष्टमा सशक्त प्रहार गर्न नपाएको कर्णालीको पोष्टमा एफिएफको गोल गर्ने क्रम रोकिएन । त्यसपछि फेरि पन्ध्रौँ र अठारौँ मिनेटमा पुनः भण्डारी, जर्सी नम्बर ७ की रेनुका नगरकोटीले व्यक्तिगत दोश्रो गोल गर्न सफल भए ।
खेलमा ६ गोल गरेर म्यान अफ दि म्याच बनेकी जर्सी नम्बर १० की अनु लामाले २३ औँ मिनेटमा गोल गरी आफ्नो गोलको खाता खोलिन् । यस्तै अनिता केसीले ४१ औँ र ४२ औँ मिनेटमा २ गोल गरिन् । यतिखेर सम्म ७ गोल भइसकेको थियो । त्यसपछि पहिलो हाफको लागि बचेको १३ औँ मिनेटसम्म एपिएफले थप ३ गोल गरी गोल संख्या १० पुर्यायो ।
त्यसपछिको ४० मिनेटमा थप १३ गोल गरी स्पष्ट २३ शुन्यको जित निकाल्दै एफिएफले आफूलाई उपाधि दाबेदारको प्रमुख टोलीको रुपमा सावित गरेको छ । दोश्रो हाफ सुरु भएको ३ मिनेटमै एफिएफले ३ गोल गर्यो । एपिएफकी अनु लामाले एक्लै पाँच गोल गर्न सफल भइन् ।
उनले ५१ औँ, ५७ औँ, ६२ औँ, ६७ औँ र ७४ औँ मिनेटमा गोल गरी डवल ह्याट्रिक पुरा गरेकी हुन् । यस्तै ४६ औँ मिनेटमा सावित्रा भण्डारी गोल गरिन भने ४८ औं मिनेटमा मञ्जु डोङले दोस्रो गोल गरिन् । लगातार कर्णलीको पोष्टमा गोलको बर्षा भइरहेको अवस्थामा सावित्रा भण्डारी फेरि चम्किन् ।
उनले पुनः ८० औँ ८२ औँ मिनेटमा गोल गरी डवल ह्याट्रिक पुरा गरिन् । खेल मैदानमा जर्सी नम्बर र ९ की भण्डारी, १० कि लामा, ११ की बस्नेत र १४ की केसीले सबै दर्शकलाई आकर्षित गरेका थिए । एकपटक पनि राम्ररी बल एपिएफको पोष्टमा प्रहार गर्न नसकेको कर्णालीले यो लज्जास्पद हारसंगै लगातार २ खेलमा पराजय भोगेको छ भने शानदार जित हासिल गरेको एफिएफले लगातार दोश्रो जित हासिल गर्दै ६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा गएको छ ।
यस्तै आज विहान भएको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो अन्तरको जित हासिल गरेको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार पनि २ महत्वपूर्ण खेल हुने छ ।
प्रतिक्रिया