१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा पनि पत्रकारको विरोध प्रदर्शन



मायादेवी अनलाइन, तौलिहवा ।
पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै देशैभर नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय अघि विरोध प्रदर्शन गरेको छ । विहान साढे ९ बजेदेखि एक घण्टा सम्म नेपाल पत्रकार महासंघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पनि जिल्ला प्रशासन कार्यालयको मुल गेटमा विरोध प्रदर्शन गरेको हो ।
अनलाईनका सम्पादक अर्जुन गिरी समाचार लेखेकै भरमा पक्राउ गरेर हिरासतमा राख्नु राज्यको पत्रकार माथिको प्रहार भएको भन्दै पत्रकार विरोध प्रदर्शनमा उत्रेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले विद्युतीय कारोवार ऐनको नाममा प्रेस माथी अंकुश लगाउने कार्य सरकारले गर्दै आएकाले यसको खारेजीका मागमा निरन्तर महासंघ लागिरहेको बताउनुभयो ।
त्यस्तै विरोध कार्यक्रममा प्रदेश सदस्य नन्दराम पौडेल, संघका पूर्व अध्यक्ष मनोज पौडेल, प्रेस युनियनका जिल्ला सभापति गोपाल भण्डारी, महासंघका जिल्ला सचिव हरि अधिकारी, संचारिका समूहकी सोना खटिक लगाएतले पत्रकारिता साइबर अपराध भित्र नपर्ने बताउदै संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता माथि नै यतिवेला गम्भिर प्रश्न चिन्ह उठेको बताएका थिए । कार्यक्रममा अनलाइनमा समाचार राख्दैमा विद्युतीय कानुन आकर्षित नहुने बताउदै यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर पत्रकारलाई चोट पुरयाएको बताएका थिए ।
कार्यक्रममा शाखा अध्यक्ष डिलाराम भुसालले तत्काल अनलाइनका सम्पादक अर्जुन गिरीलाई सरकारले रिहाई नगरे पत्रकारहरु संघर्षका कार्यक्रम गर्न बाध्य हुने बताउनुभयो ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  १० : ५९ बजे