१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यू–१९ विश्वकप एसिया छनौट – नेपालले कुवेतलाई आठ विकेटले हरायो



काठमाण्डौ ।
आइसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई आठ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेत ४९ ओभर चार बलमा एक सय ५७ रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको कुवेतले १५ रनमा दोस्रो विकेट खेर फाल्यो ।
त्यसपछि तेस्रो विकेटका लागि राम्रो साझेदारी गर्दा कुवेतको पारी सम्हालिएको थियो । उसका लागि नोमान बुद्रूले उत्कृष्ट अर्धशतकीय पारी खेले । जसमा उनले ७० रन बनाए । यस्तै गोकुल कुमारले ३६ तथा हामुद अमानुल्लाहले १७ रन बनाए ।

बलिङमा नेपालका लागि रोहित कुमार पौडेलले तीन तथा रासिद खान, सूर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए ।
जवाफमा नेपालले २८ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो । नेपालका दुवै ओपनरले अर्धशतकीय पारी खेले । पवन सर्राफ ५३ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालका रित गौतम ६२ रनमा आउट भएपछि एक सय ४० रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए ।

यो जितले पनि नेपालको विश्वकप यात्रा सफल हुन सकेन । अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले हराएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरो बनेको हो । नेपालको विश्वकप यात्रामा धक्का लाग्नुमा मुख्य दोषी वर्षा बन्यो । युएईविरुद्धको खेल वर्षाका कारण रोकिएपछि नेपालले एक रनको हार ब्यहोरेको थियो । जुन नेपाल विश्वकपमा छनोट नहुनुको मुख्य कारण बन्न पुग्यो ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  ८ : ५४ बजे