मायादेवी अनलाइन, बुद्धभूमि ।
प्राचिन कपिलवस्तु सबै हिसाबले निर्बिकल्प प्रदेश नम्बर ५ को स्थायी राजधानीका लागि उपयुक्त भएको भन्दै स्थायी राजधानी बनाउन आफुहरुले दलहरुको ह्वीप समेत अवज्ञा गर्ने जिल्लाका प्रदेश सदस्यहरुले घोषणा गरेका छन । उनीहरुले तीन वटा बुद्धको जन्मथलोका रुपमा परिचित प्राचिन कपिलवस्तुलाई प्रदेश ५ को स्थायी राजधानी बनाउन आफुहरुले ठोस पहल गर्ने समेत घोषणा गरे ।
नेकपा, कांग्रेस, संघीय समाजबादी फोरम नेपालबाट बिजयी भएका प्रदेश सदस्यहरुले सो घोषणा गरेका हुन् । सो अवसरमा कपिलवस्तुका जनप्रतिनिधि र राजनीतक दलहरु एकमतले लाग्ने घोषणा गरेका थिए । राजधानीका बिषयमा आफ्नो दलको ह्वीव समेत नमान्ने जनप्रतिनिधिहरुले घोषणा गरेका हुन् ।
नागरिक स्तरबाट गठित कपिलवस्तु स्थायी राजधानी अभियानले जिल्लाको बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा राखेको सर्वपक्षीय अन्तरसंबाद कार्यक्रमा उनीहरुले सो घोषणा गरेका हुन् । जिल्लामा रहेको सांसद, प्रदेश सदस्य, १० स्थानीय तहको प्रमुख, पूर्वमन्त्रीहरु, राजनीतिक दलका प्रमुख लगायतका सरोकारवालाहरुले प्रदेशको स्थायी राजधानी बनाउन १२ वटै जिल्लामा अभियान चलाईने बताएका छन् ।
उनीहरुले स्थायी राजधानी बनाउन आ–आफनो स्तरबाट पहल गर्ने बताए । उनीहरुले ऐतिहासिकता, अनुकलता, बिवाद रहित सहमतिका आधारमा कपिलवस्तुलाई नै राजधानी बनाउनु पर्ने माग गरे । यस अघि प्रदेश राजधानी बनाउने बिषयमा प्रदेशबाट आएका सुझाव संकलन समितिले तौलिहवामा राखेको कार्यक्रममा समेत जिल्लालाई प्रदेशको राजधानी बनाउनु पर्ने माग गरिएको थियो ।
कार्यक्रममा सांसद तथा पूर्वमन्त्री बृजेश कुमार गुप्ताले खासगरी प्रदेश सदस्यहरुले राजधानी तोक्ने बिषयमा दलहरुको दायराबाट माथी उठेर स्वबिवेक प्रयोग गरी प्राचिन कपिलस्तुलाई राजधानी बनाउनु पर्नेमा ठोस पहल गर्नु पर्ने बताउनुभयो । एक्लैको प्रयासले कपिलवस्तु राजधानी बन्न गाह्रो हुने भएकाले सबैको सामुहिक प्रयास आवश्यक रहेको उहाको भनाई छ ।
उहाँले भगवान गौतम बुद्धको क्रिडास्थल र राजधानी त्यति बेला देखि नै केन्द्र रहदै आएको प्राचिन कपिलवस्तु नै प्रदेशको राजधानी राख्न उपयुक्त रहेको उहाँको तर्क छ । ऐतिहासिक, भौगालिक, पर्यटकीय, भाषाभाषी, साम्प्रदायिक सद्भाव, औद्योगिक क्षेत्र, जग्गा जमिन, वन जंगल र अन्य जिल्लाका जनताहरु समेत सहज पहुँच हुन सक्ने भएकाले कपिलवस्तु नै प्रदेशको राजधानीका लागि उपयुक्त रहेको उहाँ बताउनुहुन्छ ।
कांग्रेस जिल्ला सभापति तथा पूर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले भारतले नक्कली कपिलवस्तु खडा गरेर दाबी गरको बेला प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तुलाई निर्विकल्प बनाउनु पर्ने बताउनुभयो । उहाँले ऐतिहासिक र अन्य आवश्यक कुराहरुले कपिलवस्तु राजधानीका लागि सही रहेको तर्क गर्नुभयोे । दाङ र रुपन्देही बिच प्रदेशको राजधानीका बिषयमा तानातान भईरहेको बेला दुबै जिल्लाका लागि पनि कपिलवस्तुलाई बनाई बिवाद पनि समाधान हुने उहाँले बताउनुभयो ।
पूर्वमन्त्री दान बहादुर चौधरीले स्थानीय राजधानी बनाउन जनप्रतिनिधि र दलहरु एक हुनुपर्ने बताउनुभयो । प्रदेश सदस्य तथा संघीय समाजबादी फोरम नेपालका नेता सहसराम यादवले प्रदेशको स्थायी राजधानी तोक्ने बिषय अझै खुल्ला रहेकोले पहल आवश्यक रहेको बताउनुभयो ।
प्रदेश सदस्यहरु दीर्घ नारायण पाण्डेय, रिना नेपाल, अर्जुन केसी, धर्मबहादुरलाल श्रीवास्तव, माला गोतामेले आफुहरुले प्रदेश राजधानी कपिलस्तुलाई बनाउन ठोस पहल गर्ने बताउनुभयो । पुराना नेता मंगल प्रसाद गुप्ताले पहुँच, आर्थिक अवस्था, जग्गा जमिन लगायतका हिसाबले कपिलवस्तु राजधानीका लागि उयुक्त भएको बताउनुभयो ।
सो अवसरमा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले तीन वटा नगरपालिका मिलेर प्रदेश राजधानी बनाउन चाहिने आवश्यक एक हजार जग्गा उपलब्ध गराउन सक्ने घोषणा गरे ।
कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले अभियानलाई १२ वटै जिल्लामा लानुपर्ने र त्यसका लागि १० वटै स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो । ऐतिहासिक र पर्यटकीक तथा ५ घन्टा भित्र १२ वटै जिल्लाका मानिसहरु कपिलवस्तुमा सहजै पग्न सक्ने, राजधानी बनाउनका लागि चाहिने ३ सय बिघा जमिन, ४० मिनेट भित्रै अन्तराष्ट्रिय बिमान स्थलमा पुग्न सकिने लगायतका सुबिधाहरु भएकाले प्रदेशको राजधानी सबै हिसाबले कपिलवस्तु नै उपयुक्त रहेको आधार प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमख नारायण खनाल, नेकपाका नेता बावुराम खनाल लगायतले बिभिन्न सुझाव र तर्क पेश गरेका थिए ।
५ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया