९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल राष्ट्रिय मावि चौरीद्धारा अभिभावक अभिमूखीकरण सम्पन्न



दीपा महत, बुद्धभूमी ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर ५ मा अवस्थीत नेपाल राष्ट्रिय मावि चौरीको आयोजनामा अभिभावक अभिमूखीकरण सम्पन्न गरिएको छ । बालबालिकाको शिक्षाप्रति अभिभावक सचेत हुनुका साथै बालबालिकाको शिक्षा प्रति अभिभावकलाई जागरुक गराउन अभिमूखीकरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुद्धभूमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बालबालिकालाई शिक्षा प्रदान गर्नुमा अभिभावकको महत्पूूर्ण भूमिका रहने भन्दै अभिभावक समेच बन्नुपर्ने बताउनुभयो ।
शिक्षाको विकास विना समृद्ध नेपाल बनाउन नसकिने भन्दै उहाले शिक्षा भन्दापनि गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा नगरपालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउने भन्दै मेयर श्रेष्ठले नेपाल राष्ट्रिय मावि चौरीको गुणस्तर सुधारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष बेचन यादवले आफ्नो वडालाई समृद्ध बनाउन आफु लागि परेको जिकिर गर्नुभयो । कार्यक्रममा किरण भूर्तेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल महिला संघका जिल्ला अध्यक्ष मिना केसी, वनदेवी सामुदायिक वनका अध्यक्ष मोतीलाल यादव लगाएतले सामुदायिक विद्यालयलाई अब्बल बनाउन शिक्षक, विधार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहने भन्दै गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खोम बहादुर थापाको अध्यक्षता , शिक्षक , रेशम राज गिरीको स्वागत मन्तब्य र शिक्षक हिरा लाल थारुको संचालनमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, शिक्षकशिक्षिका अभिभावक लगाएत १ सय ५ भन्दा बढिको सहभागिता रहेको विद्यालय श्रोतले जनाएको छ । कार्यक्रम राजपुर सामुदायिक अध्ययन केन्द्रमा भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  २ : ४५ बजे