१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दुर्घटनाग्रस्त क्षेत्र राम्रीको मोड काट्न सुरू



दाङ ।
राप्ती राजमार्ग अन्तर्गत राम्री मोड काट्न क्रम सुरू भएको छ । गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको भिरमा पटकरपटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्षपछि राम्रीको मोड काट्न टेण्डर आह्वान गरिएको थियो ।
सोही आह्वान पश्चात उज्वल निर्माण सेवाका दीपक न्यौपानेले कामको जिम्मा लिनुभएको छ । यही ठाउँमा पुस ६ गते भएको बस दुर्घटनामा परी राम्रीमा १९ विद्यार्थी, २ शिक्षक र चालक र सहचालक गरी २३ जनाको मृत्यु भएपछि प्रहरीले त्योबारे बुझ्न छानबिन समिति गठन गरेको थियो ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीमा पटकपटक दुर्घटना हुने गरेको निष्कर्ष निकाल्दै त्यहाँको ढिस्को काट्न सुझाएको थियो ।
सडक डिभिजन कार्यालय घोराही दाङकी सूचना अधिकारी क्षितिज पोखरेलले राप्ती राजमार्ग अन्तरगत अमेलियाको भञ्ज्याङदेखि चोरखोलासम्मको मोडहरू फराकिलो बनाउन झन्डै १ करोडमा टेन्डर आह्वान भएको जानकारी दिनुभयो। तर सबभन्दा पहिला राम्रीको मोडमा रहेको ढिस्को काट्ने काम सुरू गरिएको उहाले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको भिरमा पटक पटक दुर्घटना हुँदै आएको छ ।
यही भिरबाट पछिल्लो चैत मध्यतिर ना ६ ख ५४१४ नम्बरको ट्रक खसेको थियो । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त ट्रक राम्री भिरबाट खसेपछि टुक्रा टुक्रा भएको थियो । तर चालकले समयमै हाम फालेका कारण कुनै पनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। त्यही राम्री भिरमा विगतका वर्षमा एउटा मोटरसाइकल र एउटा ट्याक्टर पनि दुर्घटनामा परेका थिए। ती साधनका अवशेष अझै पनि जंगलमै अड्केको अवस्थामा छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  २ : ३१ बजे